दमौली ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।
यहाँस्थित सरकारी कार्यालयका प्रमुखसँग शनिबार भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता छ, भने।
प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।
निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताएका थिए ।








