काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव एस जयशङ्करले आज भेटी पार्टी सभापतिमा निर्वाचित भएकोमा बधाइ दिएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशका आपसी सम्बन्धका बारेमा समेत छलफल भएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
सो अवसरमा सभापति देउवाले आगामी दिनमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
सचिव जयशङ्कर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाल आएका हुन्।
आजै सभापति देउवालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका राजनीतिक प्रमुख मार्टिन हल्सले उनको निवास पुगी बधाई दिए । उनीहरूबीच नेपालमा सञ्चालित विकास कार्यक्रमका बारेमा समेत छलफल भएको थियो ।
त्यस्तै नेपालका लागि जर्मनीका राजदूत मत्थिस मेयरले पनि नेता देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकामा बधाई दिए ।








