वीरगन्ज । भारतीय पूर्वमन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ठ नेता प्राध्यापक डा. संजय पासवानले मधेशमा जारी पहिचानको संघर्ष जायज भए पनि आन्दोलनको तरिकाप्रति आफ्नो विमति रहेको बताएका छन् । आन्दोलनको स्वरुपबारे मधेशकेन्द्रित दलहरुले पुनःविचार गर्नुपर्ने उनको सुझाव छ ।
शनिबार बुद्ध जानकी स्टडी सेन्टरद्धारा वीरगन्जमा आयोजित नेपाल भारत अन्तरसम्बन्ध र मधेश विषयक विचार गोष्ठीमा प्रमुख अतिथिका रुपमा सहभागी भारतीय पूर्वमन्त्री पासवानले मधेशी दलहरुका मागमा एकरुपता नहुनु आन्दोलनको कमजोरी भएको आशय व्यक्त गरे । मधेशकेन्द्रित दलहरुलाई न्यूनतम सझा कार्यक्रम तय गरेर अगाडि बढ्न सुझाउँदै पाशवानले भने, “नेपालका पहाडी भूभाग र अन्य समुदायका मानिस पनि अधिकारबाट बञ्चित रहेको मेरो जानकारीमा छ । विचार, क्षेत्र, भाषा, धर्मका आधामा भएका विभेदहरुविरुद्ध सबै शोषित पीडितहरु एकताबद्ध हुनुपर्छ ।”
त्यस्तै भारतीय पत्रकार रुपेश पाण्डेले मधेशमा जतिसुकै र जस्तोसुकै आन्दोलन गरे पनि काठमाडौं र भारतको सत्ताले नसुन्ने भनदै काठमाडौं केन्द्रित आन्दोलन गर्न सुझाए । उनले पनि आमहड्ताल र नाकाबन्दीको आन्दोलनप्रति विमति राख्द्रै राजनीतिक र बौद्धिक विचार विमर्शका माध्यमबाट अधिकार प्राप्तीको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेश आन्दोलनमा भारतीय सत्तापक्षको सहयोगको अपेक्षा राख्दै उनले भने, “तपाइँहरु आन्दोलन गर्न यहाँ नआउनुस् तर जहाँ हुनुहुन्छ त्यहीँबाट समर्थन त जनाइदिनुस् ।” त्यस्तै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले दिल्लीले मधेशलाई सँधै काठमाडौंको नजरबाट हेर्ने गरेको भन्दै आपत्ति जनाएका थिए ।
कार्यक्रममा प्राध्यापक विजय महासेठले बुद्ध र जानकीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सोही अवसरमा भारतीय पूर्वमन्त्री प्राध्यापक डाक्टर संजय पासवानलाई बुद्ध जानकी स्टडी सेन्टरको अन्तर्राष्ट्रिय अध्यक्ष चयन गरियो भने स्टडीको नेपाल अध्यक्षको जिम्मेवारी प्राध्यापक विजय महासेठ तथा भारत अध्यक्षको जिम्मेवारी पत्रकार रूपेस पाण्डेलाई दिइयो ।








