रामनाथ खनाल, लोथर, मानिसहरूसँग खुलेर बोल्दैनन् । दिनभरी जंगल चहारेर गिठ्ठा भ्याकुर खोजेर खान्छन् । खेतीपाती छैन । र अर्काले दिएको पूराना लुगा लगाउँछन् । उनीहरूको गरिबी र विपन्नता नियाल्ने जो कसैका आँखा ओभाना हुँदैनन् । यी कारूणिक व्यथा चितवन लोथरका चेपाङरूको हो ।
लोथरका करिब छ सय चेपाङहरू आधुनिक सुख, सुविधाहरू निकै टाढा छन् । न उनीहरूले पेटभरी खान पाएका छन् न भनेजस्तो लाउन नै पाएका देखिन्छन् । उनीहरू अझै पनि जंगलका गिठ्ठा, भ्याकुर, तरुल र चिउरी मात्र होइन कहिलेकाही ती नभेट्टाउँदा रुखका बोक्रा र घाँसका डुकु समेत खाएर छाक गुजार्न बाध्य छन् ।
चेपाङहरू त अझै ढुंगे युगमा छन् । ‘उनीहरूलाई राज्यले सामाजिकिकरण र आर्थिक उपार्जनको बाटोमा डोहोर्याउन सकेको छैन,’ उनीहरूलाई सहयोग तथा राहत उपलव्ध गराउँदै आएका चितवनका केपीकिरणले असनेपालन्यूजसँग भने, ‘चेपाङहरूका लागि राज्यले कुनै सहयोग गरेको छैन ।
उनका अनुसार जनता आवास अन्तर्गत केही चेपाङहरूलाई राज्यले घर बनाउन सहयोग उपलव्ध गराएको भएपनि लोथरका अधिकांश चेपाङहरू निरपेक्ष गरिबीको रेखामुनी मात्र होइन अनि विपन्नताको अवस्थाबाट बाँचिरहेका छन् ।
‘हामी चेपाङहरूले जसको शासन आएपनि केही सुविधा पाउन सकेनौं । राज्यलाई चेपाङ छन् कि छैनन् भन्ने पनि थाहा नहुन सक्छ । हाम्रो दुःख कसले देखिदिने हजुर ?’ लोथर– २ का गुमानसिंह चेपाङले गहभरी आँसु पार्दै भने । लोथरका अधिकांश चेपाङहरूलाई केही मनकारीहरूले बेलाबखत पूराना लुगा ल्याइदिन्छन् । उनीहरू त्यो लुगा हारालुछ र लुछाचुँडी गरेर लिने गर्दछन् । ‘नयाँ किने लगाउन सक्ने अवस्था छैन । हामी गरीब चेपाङहरूले नयाँ लुगा लगाउने भाग्य पनि त हुनुपर्यो नि !’ अर्की रामसिरी चेपाङले दुःखेसो पोखिन् ।
लोथरका बीस बढी परिवार अझै ओढारमा आश्रित छन । र उनीहरूको मुख्य खाना भनेको जंगलका गिठ्ठा भ्याकुरनै भएको केपीकिरणले जानकारी दिए । चेपाङ बालबालिकाहरू विद्यालय जानुको सट्टा गिठ्ठा, भ्याकुर खोज्न जान्छन् । पढाई– लेखाई नहुँदा चेपाङ बालबालिकाको चाँडै विवाह हुने गर्दछ । जसले गर्दा महिलाहरूको स्वास्थ्य अवस्था निकै नाजुक रहेको उनको भनाई छ ।
सीमान्तकृत र लोपोन्मुख राउटे समूदायलाई राज्यले भत्ता दिएपनि आफूहरूलाई केही सहयोग नगरेको प्रति राज्यसँग चेपाङ समूदायको गुनासो रहेको केपीकिरण बताउँछन् ।
‘राज्यले चेपाङहरूका लागि पनि केही योजना बनाउनु पर्दछ , चेपाङ ओढारमै राखेर राज्य नै नभएको जस्तो बनाउनु भएन’, उनले भने । चेपाङ बालिबालिकालाई उपयुक्त शिक्षादिक्षा दिन सक्ने हो भने आगामी दिनमा चेपाङहरूले उनीहरूका अभिभावकहरूले जस्तो दुःख नपाउने उनको बुझाई छ । त्यसैले उनले अहिले १ सय चालिस चेपाङ बालबालिकाहरूलाई चितवनको रत्ननगर १०मा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र मार्फत संरक्षण गरिरहेका छन् ।
यता चितवनैकै सिद्ध गाविसमा भने व्यवसायिक कृषि परियोजना अन्तर्गत एक करोड रूपैयाँ चेपाङको विकासको लागि सरकारले छुट्ट्याई दिएको छ जसका कारण चेपाङ समूदायको थोरै भएपनि विकास हुन सकेको छ तर लोथर गाविसमा भने केही हुन नसकेको उनले बताए । र त त्यहाँका चेपाङहरू राज्यलाई गुनासो गर्छन्, के चेपाङहरू यसैगरी ओढारमै मरून्?!








