काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ सरकारले बुझेको र यसको समाधानका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका कार्यवाहक अध्यक्ष हिमबहादुर रावल नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार अर्थमन्त्रालयमा भएको भेटमा उनले उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधानको प्रयास गर्ने जानकारी दिए ।
अध्यक्ष रावलले आर्थिक सङ्कटकाल घोषणा गरी उद्योग व्यवसायलाई बचाउनुपर्नेमा जोड दिँदै मुलुकलाई असफल राष्ट्र बनाउने खतरा बढेकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
सो अवसरमा सङ्घले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सुरक्षा र इन्धन उपलब्ध गराएर सञ्चालन हुने तथा उत्पादित वस्तु सहजै ओसारपसार गर्न मिल्ने वातावरण बनाउन माग गरेको थियो ।
इन्धनको चरम अभावलाई मध्यनजर गर्दै निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिन र स्थिति सामान्य नहुन्जेल पेट्रोलियम पदार्थ आयातमा भ्याटलगायत कर छुट दिन आग्रह पनि सङ्घले माग गरेको थियो ।








