काठमाडौँ, अभाव र पीडाकैबीच दशैं सँघारबाट बाहिरिँदैछ । भारतको अघोषित नाकाबन्दी र सरकारको तयारी अभावका कारण आम नागरिकले सहज र सूलभ ढंगबाट बस्तु तथा सेवा पाउनुपर्ने अधिकारबाट पूरापुर बञ्चित भए । दशैंजस्तो महत्वपूर्ण चाड जनताहरूले खल्लो मात्र मनाएनन्, अभावबाट निर्मम पिल्सिएपनि ।
जोरपाटीका सयम पोखरेल भन्छन्, ‘यो सब सरकारको लाचारी र निरीहपनका कारण भएको हो ।’ सरकारले सार्वजनिक तथा भाडाका सवारी साधनहरूलाई जसरी पनि तेल उपलव्ध गराउने बताएपनि पेट्रोलपम्पवालाहरूले मनलागी वितरण गरेका कारण लामो तथा छोटो दूरीका समेत यातायातले तेल पाउन सकेनन् । जसका कारण यात्रुले हदैसम्म कष्ट व्यहोरे । त्यसक्रममा प्रहरी, सशस्त्र प्रहरी र आर्मीका पेट्रोलपम्पहरू पनि विवादमुक्त बन्न सकेनन् ।
नाकाबन्दीको असर ग्रामिण क्षेत्रमा कम परेपनि सहरी क्षेत्र अस्तव्यस्त बनिसकेको छ । ग्यास अभावले चुल्हो बल्न छोडिसेकेको छ भने सरकारले दाउरा दिन्छु भनेर बचन दिएपनि त्यससम्बन्धि तयारी गर्न नसक्दा उनीहरू भोकै बस्नु पर्ने बाध्यता अगाडि आइसकेको छ ।
चावहिलका श्याम श्रेष्ठ भन्छन्, ‘दशैंजस्तो चाडपर्वको बेलामा पनि सरकारले उपभोग्य सामाग्री उपलव्ध गराउन नसक्नु निकै लाजमर्दो कुरा हो ।’ उनले थपे, ‘सरकारको यही पारा रहिरहने हो भने नाकाबन्दी पनि खुल्दैन, जनताले दुःख पाउन पनि छोड्दैनन् ।’
सरकारले भारतसँग मात्र भरपर्दा यस्तो संकट निम्तिएको भन्दै उनी चीनसँगको नाका सुचारू गरेर आपूर्ति सहज बनाउनु पर्ने तर्क गर्दछन् । भारत यस्तो हेपाहा छ भन्ने जान्दाजान्दै उसैसँग मात्रै भरपर्नु नेताहरूको चरम लाचारीपन हो,’ उनले भने, ‘भूकम्प गएको पाँच महिना वित्दा पनि कोदारी र केरुङ्ग नाका किन खुलेन?’
त्यस्तै बानेश्वरका भैरव आचार्यपनि नेपालका नेताहरूले जनताको कष्ट कहिल्यै बुझ्न नसक्ने भन्दै आक्रोस पोख्छन् । ‘जुन जोगी आएपनि कार्न चिरेका, सुशील हटाएर ओली ल्याउँदा जनताले के पाए ? यत्रो नाकाबन्दी भइरहेको छ, २०४५ सालमा नाकाबन्दी हुँदा तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठले हेलिकप्टरबाट ल्याएर भएपनि जनता भोको राखेनन्। अहिलेका प्रधानमन्त्री तर जनता मरिरहँदा पनि रमिता हेरेर बस्छन्’ उनको आक्रोस थियो ।








