काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा भएको अवरोध हटाई नेपालमा पेट्रोलियम पदार्थलगायत सामग्रीको आपूर्ति सहज बनाउने दिशामा अविलम्ब कदम चाल्न भारत सरकारलाई भनेका छन्।
संविधान जारीपछिको अवस्थामा एमाले केन्द्रीय कमिटीद्वारा मंगलबार आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले भूपरिवेष्टित छिमेकी मुलुकलाई भारतबाट यस्तो व्यवहार हुनु उचित नभएको पनि स्पष्ट गर्दै भने – “आपूर्ति व्यवस्था अविलम्ब सहज बनाउन म आग्रह गर्छु, यो सबै नेपाली जनताको इच्छा हो ।”
विश्वका धेरै मुलुकले नेपालको संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएकोमा स्वागत गरिएको सन्दर्भमा भारतजस्तो ठूलो लोकतान्त्रिक मुलुकले ‘जानकारीमा आयो’ मात्र भन्नुले आफूलाई आश्चर्यमा पारेको पनि अध्यक्ष ओलीले बताए ।
उनले संविधान आएपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलको सहमति भइसकेकाले संविधानको कार्यान्वयन, राष्ट्रिय समस्याको समाधान, भूकम्पपछिको पुनःनिर्माण, मुलुकको आर्थिक उन्नतिका लागि तीव्रताका साथ काम हुने जनाए ।
ओलीले एमाले राष्ट्रियताको पहरेदार, लोकतन्त्रको नायक र सामाजिक न्यायको अभियानकर्मीका रुपमा संविधान निर्माणमा पार्टीले असाधारण भूमिका निर्वाह गरेको पनि जिकिर गरे।
उपराष्ट्रपति परमानन्द झाबाट हालै व्यक्त अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै उनले संविधानसभाबाट संविधान बन्नु कुनै ख्यालठट्टा नभएको भन्दै थपे– “राजनीति नगर्ने संस्थाले मैदानमा नआउँदा उपयुक्त हुन्छ, म महामहिमलाई मर्यादामा रहन आग्रह गर्छु ।”
लोकतान्त्रिक प्रक्रियाबाट दुई तिहाइ सभासद्को मतबाट जारी भएको संविधानलाई पुनर्लेखन गर्नुपर्छ भन्ने कतिपय मधेसकेन्द्रित दलका नेताका भनाइमा पनि उनले असहमति राखे । ओलीको प्रश्न थियो – “जिद्दीको पनि हद हुन्छ, असंवैधानिकताको पनि हद हुन्छ । अङ्गीकृत नागरिकता भएकालाई मुख्यमन्त्री किन चाहियो ? नेपाली छैनन्?”
भेलामा ‘नेपालको संविधान र आगामी कार्यभार’, ‘संविधान निर्माण र बहसका विषय’, ‘नेपालको संविधानको विशेषता’, ‘नयाँ संविधानः केही तुलनात्मक यथार्थ’, ‘आगामी दलीय सहयात्रा’, ‘अन्तर्राष्ट्रिय सम्बन्ध’, ‘मुलुकको विद्यमान सुरक्षा अवस्था’ आदिबारे शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम छ ।
अहिले जारी भेलाको बन्दसत्रमा अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतले प्रशिक्षण दिनुहुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटी, निकायका पदाधिकारी, सांसद्, पूर्व सांसद्, अञ्चल तथा जिल्ला अध्यक्ष, जनवर्गीय सङ्गठनका पदाधिकारीलगायत करिब सात सयको सहभागिता छ ।


![sf7df8f}+df cfof]lht g]skf Pdfn]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/09/1443520663377_Pro_Ktm_-UML-Member_Sambhodhan-KP-Oli-300x175.jpg)






