अष्ट्रेलियाको केन्समा योग, ध्यान, आयुर्वेदिक उपचार र निशुल्क चिकित्सा शिविर सम्पन्न
सिड्नी, अष्ट्रेलिया — एसएलसीए (SLCA) र जीएसपीएसएस (GSPSS) को संयुक्त आयोजनामा अष्ट्रेलियाको केन्समा तीन दिनसम्म चलेको योग, ध्यान, आयुर्वेदिक उपचार, प्राकृतिक चिकित्सा र औषधि बिना उपचार शिविर सफलतापूर्वक सम्पन्न भयो। यो शिविरले शारीरिक मात्र नभएर मानसिक र आध्यात्मिक स्वास्थ्यलाई समेत उज्यालो बनाउँदै हजारौँको जीवनमा नयाँ आशा र ऊर्जा भरेको छ। प्रख्यात योगी, प्रोफेसर आचार्य श्री राजन शर्माको नेतृत्वमा आत्म जागरण, दीक्षा तथा ध्वनि चिकित्सा सम्पन्न भयो, जसले सहभागीहरूको मन र आत्मालाई गहिरो शान्ति र आनन्दले भरिदिएको छ।
शिविरमा नेपाली, भारतीय, अष्ट्रेलियाली, जापानी लगायतका बहुसांस्कृतिक समुदायले भाग लिए। एसएलसीएका प्रमुख नेत्र भट्टराईका अनुसार, यस्ता व्यवहारिक ज्ञानका कार्यक्रमहरूले थुप्रै मानिसका जीवनमा दुख र पीडाबाट मुक्तिको बाटो खोलिदिएका छन्। धेरैले आफू भित्रको शान्ति र प्रेम फेला पारेका छन्। आयोजनाकर्ता कृष्ण न्यौपाने र शुवाष क्षेत्रीसहितका सहभागीहरू पनि यस शिविरबाट प्राप्त आध्यात्मिक र शारीरिक लाभले अत्यन्त प्रभावित भएका छन्।
योगी आचार्य राजन शर्माले विभिन्न रोगहरूको पञ्चकर्ममार्फत प्रयोगात्मक उपचार प्रस्तुत गर्दै
ज्ञान र तत्वज्ञानले कसरी मानिसको जीवनमा उज्यालो ल्याउन सक्छ भन्ने कुरा आफ्ना सरल शब्दहरूमा बुझे। शिविर अवधिमा गरिएका गर्भ ध्यान, माटो उपचार र शरीर स्नानले सहभागीहरूलाई प्रकृतिसँग एकाकार हुन र मनको गहिराइसम्म शान्ति अनुभव गर्न सहयोग पुर्यायो।
शिविरमा सहभागी वरिष्ठ व्यक्तिहरू जस्तै लोकजी, धनपतिजी, अर्जुनजी,हरी मिश्र जी, पर्वतजीले हजारौं मानिसहरूको उपस्थितिमा निशुल्क उपचार उपलब्ध गराइएकोमा गहिरो खुशी र कृतज्ञता व्यक्त गरे। यो सेवा पूर्वीय दर्शनको अमूल्य उपहार भएको उनीहरूको विश्वास थियो, जसले मानवताको साँचो अर्थ उजागर गरेको छ।
आचार्य शर्माले निशुल्क महान् मुक्तिन विधिको व्यापार नहुने, साँच्चिकै साधु र आध्यात्मिक व्यक्तिले मात्र ज्ञान दान गर्नुपर्ने भन्दै “बिना स्वार्थ सेवा नै योगीको साँचो परिचय हो” भनी उद्घोष गरे। उनका यी शब्दहरू सुन्दा उपस्थित सबैको मनमा श्रद्धा र विश्वासको दीप बल्ने महसुस भयो।


विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, जसले ७० देशमा वैदिक विद्या प्रचार गर्दै आएको छ, र पाशुपतिबद्ध तपोस्थल तथा अष्ट्रेलियाको लिण्डहर्ट आश्रमका संस्थापक आचार्य राजन शर्मा हाल दैनिक सात हजारभन्दा बढीलाई निशुल्क योग, आयुर्वेद, संस्कृत,
आत्मबोध साधना र महाशक्ति साधना गराउँदै छन्।
कार्यक्रममा अष्ट्रेलियाका योग शिक्षक टोनी र यूरी लीले पहिलो पटक सहभागी भएर नेपाली र अन्य बहुसांस्कृतिक समुदायसँग सहकार्य गर्दा पाएको अनुभव अत्यन्त प्रेरणादायक र जीवन बदल्ने खालको भएको बताए।
आचार्य शर्माले अंग्रेजी र नेपाली भाषामा शिविर संचालन गरी सबैलाई समान अवसर दिएकोमा सहभागी सबैले गुरुहरूप्रति हृदयदेखि कृतज्ञता व्यक्त गरे। यो अभियानले नेपाललाई गुरु देशका रूपमा विश्वमा चिनाउन महत्वपूर्ण योगदान दिइरहेको छ।
अवसरमा पण्डित दिनबंधु पोखरेलले सङ्गीतमय भागवत चर्चा र सत्संग सम्पन्न गरेर सबैको मनमा आध्यात्मिक ऊर्जा र उत्साह थपे। तीन दिनसम्म चलेको कार्यक्रमले सहभागीहरूको जीवनमा नयाँ प्रकाश र प्रेरणा छर्न सफल भयो।
कार्यक्रमको अन्तिम दिन स्थायी अध्यात्मिक अभियन्ता नन्दु दाहालले विश्व शान्ति यज्ञ सञ्चालन गर्दै सबैमा एकताको भावना र प्रेम जगाए। यस शिविरले न केवल नेपालीहरूलाई, तर विदेशमा रहेका सम्पूर्ण सहभागीहरूलाई जीवनमा उज्यालो, स्वास्थ्य र आध्यात्मिक शान्तिको उपहार दिएको छ।






















