नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै १२ बुँदे ऐतिहासिक घोषणा-योग र आध्यात्मिक विश्व सम्मेलन

योग र आध्यात्मिक विश्व सम्मेलन २०२५ थाइल्याण्डमा सम्पन्न — नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै १२ बुँदे ऐतिहासिक घोषणा

राचाबुरी, थाइल्याण्ड — अप्रिल ४ र ५, २०२५
ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्स (GSPSS), थाई नेपाली संघ र अन्तर्राष्ट्रिय योग एलायन्सको संयुक्त आयोजनामा थाइल्याण्डको राचाबुरीमा भव्य रूपमा सम्पन्न Yoga and Spiritual Global Summit 2025 ले नेपालको योग परम्परालाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

सम्मेलनमा प्रमुख अतिथिका रूपमा आमन्त्रित योगी आचार्य राजन शर्माले नेपाली योग परम्पराको उद्गम, इतिहास, मौलिकता र मानव जीवनमा यसको उपयोगिता विषयमा गहिरो प्रस्तुति दिनुभयो। उहाँले नेपाललाई योगको आदिस्रोत राष्ट्रको रूपमा चिनाउनुपर्नेमा जोड दिनु भयो र “योग नेपालको आत्मा हो, विश्वको उपहार हो” भन्ने विचार प्रस्तुत गर्दै नेपाली ज्ञानको पुनरुत्थानको सन्देश दिनुभयो।

सम्मेलनका मुख्य विशेषताहरू:

  • सम्मेलनमा विश्वका विभिन्न देशबाट हजारौँ योगी, ध्यान प्रशिक्षक, आध्यात्मिक गुरुहरूको सहभागिता थियो।

  • GSPSS UK का अध्यक्ष दयाराम गरुतम, काठमाडौं उपत्यका संयोजक योगेन्द्र खतीवडा, केन्द्रीय सदस्य राम सञ्जेल लगायतका वक्ताहरूले GSPSS को उद्देश्य, नेपाल र विश्वमा आध्यात्मिक चेतनाको विस्तारको बारेमा मन्तव्य राखे।

  • डॉ. क्रिश ली (Keynote Speaker) र योगिनी सिन्डी हाइडर जस्ता अन्तर्राष्ट्रिय योगीहरूले योगदर्शन र आधुनिक जीवनमा यसको उपयोगिताको सन्दर्भमा महत्वपूर्ण विचार राखे।

  • सम्मेलनमा विभिन्न योग पद्धति, ध्यान प्रविधि, प्राचीन आयुर्वेदिक उपचार, मनोवैज्ञानिक शान्ति प्राप्तिका उपाय, प्राकृतिक जीवनशैली आदि विषयमा कार्यपत्रहरू प्रस्तुत भए।

  • थुप्रै योगी तथा प्रशिक्षकहरूले आफ्नो अनुभव आदानप्रदान गर्दै शारीरिक, मानसिक र आत्मिक रूपमा समृद्ध जीवनयापनमा योगको महत्वबारे अनुभव साँचो भावनासहित प्रस्तुत गरे।

सम्मेलनमा पारित १२ बुँदे घोषणापत्र:

१. नेपाललाई आधिकारिक रूपमा योगको उत्पत्तिस्थलको रूपमा विश्वसामु चिनाउने।
२. योग शिक्षालाई विद्यालय, विश्वविद्यालय र समुदाय स्तरमा समावेश गर्ने अन्तर्राष्ट्रिय पहल गर्ने।
३. GSPSS मार्फत नियमित अन्तर्राष्ट्रिय सम्मेलन र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने।
४. योगमार्फत मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र जीवन ऊर्जा वृद्धि गर्ने अभियान चलाउने।
५. योगलाई प्रविधिको सहयोगमा युवा पुस्तामा फैलाउने रणनीति विकास गर्ने।
६. महिलाहरूको सशक्तिकरणका लागि योग शिक्षा विशेष रूपमा प्रवर्द्धन गर्ने।
७. आध्यात्मिक चेतनाको जागरणका लागि ध्यान र मौलिक साधना प्रविधिहरूलाई प्रोत्साहन गर्ने।
८. मानव जीवनमा प्रेम, करुणा र सहिष्णुताको विकासका लागि योगमार्फत अभियान चलाउने।
९. विश्वशान्तिको आधारभूत उपायको रूपमा योगलाई प्रचार गर्ने।
१०. वातावरणीय सन्तुलन र प्रकृतिप्रति उत्तरदायित्व जनाउने आध्यात्मिक दृष्टिकोण फैलाउने।
११. योग, ध्यान र प्राचीन जीवन पद्धतिलाई अनुसरण गर्दै आत्मनिर्भर समाज निर्माण गर्ने।
१२. मानवता, एकता र वैश्विक भ्रातृत्वको सन्देश फैलाउने अभियानको नेतृत्व गर्ने।

यो सम्मेलनले न केवल योग र आध्यात्मिकताको प्रचार गर्‍यो, तर नेपाललाई विश्वसामु ज्ञान, दर्शन र साधनाको पवित्र भूमि भनेर चिनाउन गम्भीर प्रयास गर्‍यो।

Photo Feature ;

सम्बन्धित शिर्षकहरु