कहाँ पुग्यो क्विन्सल्यान्डमा नेपाली साँस्कृतिक केन्द्र बनाउने अभियान ?

नेपाली साँस्कृतिक केन्द्र बनाउने अभियान कहाँ पुग्यो?

जिज्ञासा छैन? – पक्कै पनि छ।
उत्तर पाउनुभयो त? – सायद छैन होला।

अब उत्तर खोज्नुपर्छ। हामीले प्रश्न धेरै गर्यौ। अब आफ्नो ठाउँबाट रचनात्मक सल्लाह र सुझाव दिनुपर्छ। स्मरण रहोस, यस विषयको विज्ञता कसैले बोकेका छैनन्। समयसँगै सिक्दै जाने मात्र हो। परिमार्जित गर्दै जाने हो। हिजो अंकुराएको सोचलाई समयसँगै आजसम्म बोकेर हिड्नुहुने सबैलाई धन्यवाद दिएर रचनात्मक नयाँ गोरेटो कोर्ने हो। हिजो भएका कमजोरि नदोहोरिने गरि त्यसलाई लिपिबद्ध गर्दै नयाँ बाटो हिँड्ने हो। यसका निम्ति आफ्ना निहित स्वार्थका पुलिन्दा छोडिदिनुस्। व्यापारिले व्यापार नदेख्नुस्, समाजसेविले घाँटिमा लगाउने खादा नदेख्नुस्। यति भएपछि, साँस्कृतिक केन्द्र नबनि सुखै छैन।

स्वार्थ बाझिए के गर्ने?

जब स्वार्थ बाझिनेगरि कुनैपनि विषयको उठान हुन्छ, त्यसको समाधान खोज्नुपर्छ। पहिलो स्वार्थ बाझिएको स्व:घोषणा गर्ने र दोस्रो स्वार्थ बाझिने गरि निर्णायक तहमा आफूले कुनै पनि मत नराख्ने वा राख्न नलगाउने।

पारदर्शिता र जवाफदेहि कमिटिको अवधारणा अन्तर्गत यस्ता विषयमा काम नगर्न हो भने स्वार्थ बाझिएको खण्डमा त्यसले नकारात्मक सन्देस प्रवाह त गर्छ नै अझै बढि समुदायको विश्वसनियतामा पनि ह्रास आउँछ।

हिजो के भयो, त्यसलाई छोडौं। राम्रा विषय ग्रहण गरौं नराम्रालाई छोडिदिउँ। हिजो सोचिएका सबै विषय आज सान्दर्भिक नहुन सक्छन्। हिजो बनेका योजनामा खिया लाग्न सक्छन्। तर हिजो घुँडा धसेर यस प्रोजेक्टलाई निस्कर्समा पुर्याई छाड्ने अठोटका साथ लाग्ने सबैप्रति आभारि रहनुपर्छ। अर्थात्, उनिहरुका गल्तिबाट सिक्नु त पर्छ नै उपलब्धिको रक्षा गर्नुपर्छ। उनिहरुले धकेलेको गाडा पुरानो हुनसक्छ, पुरानो गाडाको टायर फेर्नुपर्छ। अझ राम्रो त नयाँ तरिका अनुसरण गर्नुपर्छ, योजनाका हिसाबले।

मेरो अबको बाटो

यस अघिका लेखमा झैं यसपाली पनि म व्यक्तिगत रुपमा चार हजार मि. स्क्वायरको जग्गा किनिहाल्ने र एक थान खादा गलामा भिरिहाल्ने पक्षमा छैन। म हिजो पनि यसको पक्षमा थिइन र आज पनि मेरा लागि त्यो योजना दिर्घकालिन फाइदाका लागि होइन भन्नेमा मत परिवर्तन भएको छैन।

यस्तो विमति राख्दै गर्दा मठ र मन्दिर फाइदाका लागि होइनन् भन्ने लाग्न सक्छ। अवश्य नै, मठ मन्दिर फाइदाका लागि होइनन्। तर, के निर्माण भएका संरचनामा टुकि बालेर बस्छौ? कि आकाशबाट पानी पर्ला र खाउँला भनेर बस्छौं? काउन्सिलको बिल कसरी कुन स्रोतबाट तिर्ने? त्यसको स्रोतका विषयमा छलफल भएको छ? छ भने कहाँ पुग्यो? बरु यस विषयलाई नयाँ सिराबाट उधिन्नुपर्छ। हतारमा गरिएको निर्णयले मुठ्ठिभरि व्यक्तिहरुलाई त फाइदा नै होला तर वृहत्तर उद्देश्य प्राप्तिको बाटो छेकिन्छ।

म चाहन्छु कि अबको बहस दिर्घकालिन सोचमा टेकेर होस्। आफै उभिने ल्याकत राख्ने बलियो संस्थाको निर्माण होस् र त्यसले भोलिको आधारशिला बनाओस्। थोरैमा पनि ८-१० हेक्टर जमिन अहिलेकै बजेट वा त्यो भन्दा पनि कममा किन्न सम्भव छ भन्न त्यति धेरै खोजि गरिरहनु पर्दैन। जग्गा किनेपछि त्यसलाई कसरी काँटछाँट गर्ने, कमर्सियल अप्रुभल कसरी लिने आदि काम विज्ञहरुको पोल्टामा छोडिदिउँ। आफ्नो क्षेत्रमा नाम कहलिएका ईन्जिनियर, रिसर्च डक्टरहरुले कसरी यो सामाजिक कर्ममा योगदान पुर्याउँछन्, भोलिका दिनमा त्यसको पनि लेखाजोखा गरौंला।

त्यो भन्दा महत्वपुर्ण विषय भनेको उपयुक्त ठाउँमा हामीले भनेजति जग्गा किन्ने व्यवस्था गर्नु हो। भ्यागुताको धार्नी पुर्याउँला र खाउँला भन्ने सर्पले भोकै मर्नुपर्छ। यथार्थ यहि हो। त्यसैले अब प्रतिस्पर्धात्मक शैलिको विकल्प छैन। प्रतिस्पर्धा गराउँदा समाज बिभाजित हुन्छ भन्ने मत पनि हुन सक्छ। तर स्वस्थ प्रतिस्पर्धाले पक्कैपनि समाज विभाजित हुन्न। बरु रिजल्ट निकाल्न सहज हुन्छ।

के विषयमा प्रतिस्पर्धा गर्ने?

पहिलो

चार हजार स्क्वायर होइन कम्तिमा ८-१० हेक्टर जमिन खोज्ने प्रतिपर्धा गर्ने। त्यसको स्रोत जुटाउने प्रतिस्पर्धा गर्ने। पुर्वाधार विकास र त्यसको प्रारुप कस्तो बनाउने भन्नेमा प्रतिस्पर्धा गर्ने।

दोस्रो

दिर्घकालमा कसरी यसको आर्थिक व्यवस्थापन गर्ने, स्थाई आर्थिक स्रोत कसरी जुटाउने र जग्गा कहाँ किन्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्ने। जग्गा कहाँ किन्ने भन्ने प्रतिस्पर्धामा जग्गा किन्नका लागि दुई वा त्यो भन्दा बढि क्षेत्र छुट्याउने र जसले धेरै अर्थ संकलन गर्न सक्छ र जसले किफायति मुल्यमा जग्गा भेट्टाउँछ उसैको प्राथमिकताको क्षेत्रमा जग्गा किन्ने। यसो गर्दा आफ्नो क्षेत्रमा मन्दिर, गुम्बा बनाउनेको प्रतिस्पर्धा हुन्छ र रिजल्ट सहज हुन्छ। यसका लागि निश्चित मापदण्ड बनाउनुपरे बनाउने।

यस विषयलाई स्थापित गर्न चाहिने रचनात्मक भुमिकामा हरदम नलाग्ने कुरै भएन।

के हो त विकल्प?

अबको विकल्प सहज छैन। हिजो नेपालीहरुले आफ्नो सांस्कृतिक अपनत्व ग्रहण गर्नसक्ने सानो मन्दिर मात्र बनाउने लक्ष्य थियो। आज त्यसमा विविध कोणबाट छलफल भएर सम्पुर्ण नेपाली संस्कृतिको परिचायक सांस्कृतिक केन्द्र बनाउनेमा सबैजना एकैठाउँमा उभिएका छौं। यो गजबको एकता हो। यस्तो गजबको सम्भावना अन्यत्र भेटिन्न। गुम्बा र मन्दिर एकै ठाउँ बनाउँदै गर्दा उभौली मनाउने निश्चित स्थान किन नबनाउने? उभौलि र ल्योसार मनाउने स्थान बनाएपछि तलाउको किनारमा क्यामपिङ्ग गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्व मनाउने ठाउँ किन नबनाउने? यो आज नै सोच्नुपर्छ। भोलि धेरै ढिला हुन्छ। अनि चार हजार स्क्वाएरको जग्गामा कहाँ तलाउ बनाउने, कहाँ देउडा नाच्ने? कहाँ पिकनिक गर्ने?

त्यसमाथी यस्तो विविधता भएको सांस्कृतिक धरातलमा उभिएका हाम्रा चुनौतिहरुबिच यस प्रोजेक्टप्रति अपनत्व जनाउन सक्ने समुदायको सहयोग नभइ यो प्रोजेक्ट फगत सपना मात्र हो। त्यसैले समुदायलाई उद्वेलित गर्न नसक्ने हो भने कसैको श्रीवृद्धिको निहित उद्देश्यका लागि समुदायमाथी बेइमानि गर्नु हुँदैन। उनिहरुमा आशाका संचार गराउनुपर्छ। आज नबन्दा फरक पर्दैन तर जुन दिन बन्छ त्यसपछिको पचास वर्षसम्म गर्व गर्न लायक धरोहरको बारेमा कल्पना गरिनुपर्छ।

सम्बन्धित शिर्षकहरु