हरेक व्यक्तिले किन गुमाउँछन् हरेक वर्ष ४४ घण्टाको निन्द्रा, पुरुषभन्दा महिलामा यसको असर बढी

एजेन्सी । कुनै दिन तपाईको निद्रा गडबढ भयो । राम्ररी सुत्न सक्नुभएन । भोलिको दिन तपाई उस्तै उर्जाका साथ, फूर्तिका साथ काम गर्न सक्नुहुन्छ ? पक्कै सक्नु हुन्न ?

निद्रा गडबढ हुँदा अल्छी लाग्छ । शरीर बोझिलो हुन्छ । घरीघरी तन्द्रामा छु जस्तो लाग्छ । यसको अर्थ के भने, निद्रा हामीलाई त्यति नै आवश्यक छ, जति खाना, पानी र हावा ।

पर्याप्त निद्रा लिइएन वा सुतिएन भने अनेकन शारीरिक समस्या सुरु हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन आदि । भनिन्छ, जब हामी राती सुत्छौं, तब शरीरका कतिपय अंगले आफ्नो काम गर्छ । राम्ररी निद्रा नलिइएको अवस्थामा ती काम राम्ररी हुन पाउँदैन ।

अर्कोतर्फ शरीर जति अवधि सक्रिय रहन्छ उत्तिनै अवधि विश्राम पनि खोज्छ । यसकारण निद्रा अनिवार्य र महत्वपूर्ण छ । तर पछिल्लाे समय ग्लोबल वार्मिङको असर अहिले हाम्रो निद्रामा पनि देखिएको छ ।

डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनले हालै गरेको अनुसन्धानका अनुसार बढ्दो तापक्रमसँगै हाम्रो निद्राको अवधि घट्दै गइरहेको छ । राति गर्मी बढेपछि यस्तो भएको हो । अनुसन्धानकर्ताहरूका अनुसार औसत व्यक्तिले हरेक वर्ष ४४ घण्टाको निन्द्रा गुमाउने गरेका छन् ।

यो अनुसन्धान ६८ देशका ४७ हजार मानिसमा गरिएकाे थियाे । वैज्ञानिकहरूले रिस्ट ब्यान्डको सहायताले यी मानिसहरूको ७० लाख रातको निद्रा ट्र्याक गरेकाे बताएका छन्।

अन्वेषकहरूका अनुसार यो निद्राको कमी पुरुषको तुलनामा महिलामा एक चौथाइ बढी देखिएकाे छ । साथै, ६५+ वर्षका मानिसहरूमा दोब्बर र कम आय भएका देशहरूका मानिसहरूमा तीन गुणा बढी देखिएकाे छ । यसअघिका अध्ययनहरूमा वैज्ञानिकहरूले जलवायु परिवर्तनले मानसिक स्वास्थ्य, हृदयघात, आत्महत्या र दुर्घटनामा पार्ने असरका बारेमा समेत अध्ययन गरेका थिए।

वैज्ञानिक केल्टन माइनर भन्छन् :- तातो रातहरूले ठूलो जनसंख्याको निद्रामा बाधा पुर्‍याउँछ। उदाहरणका लागि, तापमान २५ डिग्री सेल्सियसभन्दा बढी हुँदा थप ४६,००० मानिसहरू निद्राको कमीबाट ग्रस्त हुन्छन्। भर्खरै भारत र पाकिस्तानमा खतरनाक गर्मी लहरले करोडौं मानिसको निद्राको अवधि घटाएको छ।

महिलालाई किन बढी निन्द्रा लाग्छ ?

अनुसन्धानमा भनिएको छ कि पुरुषको तुलनामा महिलाको शरीर राती सुत्नुभन्दा चाँडो चिसो हुन्छ । त्यसैले राति गर्मी बढेपछि महिला बढी प्रभावित हुने गरेको छ । यसबाहेक महिलाको छालामुनि औसतमा बढी बोसो हुन्छ, जसका कारण उनीहरुको चिसो प्रक्रिया सुस्त हुन्छ ।

बृद्धबृद्धाहरुको कुरा गर्दा राति कम सुत्ने र गरिब देशहरुमा चिसोको राम्रो सुविधा नहुँदा त्यहाँका मानिसहरु गर्मीसँग लडिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु