काठमाडौं । बलात्कार मुद्दामा पीडित होस्टाइल हुँदा पनि अभिनेता पल शाह अढाई वर्ष जेल बस्नु पर्ने भएको छ।
जिल्ला अदालत नवलपुर र तनहुँले अदालतमा बकपत्र गराउँदा पीडित र पीडितका बुबा जाहेरवालाले पल निर्दोष रहेको र आफ्नै जाहेरी झुटो रहेको बयान दिएका थिए।
सुरुमा पलमाथि बलात्कार आरोप लगाएका उनीहरुले दुवै अदालतमा पछि बयान बदलेर पल निर्दोष रहेको भने पनि अदालतले भने अढाई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्नु पर्ने भएको छ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।








