काठमाडौं । नेपाली दिदीबहिनीहरूको महान् पर्व तीजको सन्दर्भ पारेर सिस्नुपानी नेपालले ‘छोरी’ कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपालका धेरै क्षेत्रका छोरी (महिला)को उपस्थिति थियो ।
व्यंग्यका साथै करुणामिश्रित प्रस्तुति रहेको कार्यक्रममा छोरीहरूका सांगीतिक प्रस्तुतिदेखि कविता र गायन पनि रहेको थियो । छोरा र छोरी समाजका परिपुरक हुन् भन्ने भाव झल्कने सो कार्यक्रममा केही पुरुष प्रस्तोता पनि रहेका थिए ।
कार्यक्रममा १२ जना छोरीले शास्त्रीय संगीत, १८ जना छोरीले नौमती बाजा र ३४ जना छोरीले बाँसुरी वादन गरेका थिए । सोहीअवसरमा कविहरू कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माको कविता र अञ्जु पन्तको गीतको प्रस्तुति रहेको थियो ।
पुरुष प्रस्तोतामा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको छोरी सम्बन्धी प्रस्तुति थियो भने कलाकार मनोज गजुरेलले आफ्नी आमाको अभिनय गरेर दर्शकलाई भावुक बनाएका थिए ।
कार्यक्रममा कवि अर्जुन पराजुली, लक्ष्मण गाम्नागे र टंक आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।








