काठमाडौं- आइतबार बिहान देखी सम्पर्क बिहिन तार एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये २१ जनाको शव फेला परेको छ । बाँकी एकजनाको खोजी कार्य जारी छ । मौसम खराबीका कारण जहाज दुर्घटनामा परेको जनाइएको छ। हिजो अबेर रातिसम्म खोजि कार्य जारी भए पनि मौसमका कारण सम्भव भएको थिएन । स्थानीयको सहयोगमा आज बिहान मात्रै जहाज दुर्घटना स्थल पत्ता लागेको थियो ।
अहिलेसम्म १० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताइएको छ ।
सुरक्षा टोलीले २१ शव संकलन गरेको प्रहरीले जनाएको छ । सुरुमा सबै शव कोवाङ झारिने र मौसमले साथ दिए आजै काठमाडौं ल्याउने तयारी छ । शव ल्याउनका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।
शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिनेछ ।
सबै शव कोवाङमा संकलन गरेपछि काठमाडौं ल्याइनेछ । आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थुसाङ गाउँपालिका–२ सानसुरे भीरमा ठोक्किएर दुर्घटना भएको हो । उक्त जहाजमा सवार सबैको मृत्यु भएको छ।









