चरम आर्थिक संकटमा परेका कारण श्रीलंकाले कागजसम्म किन्न नसक्दा कयौं विद्यार्थीको परिक्षा हुन सकेको छैन। त्यहाको सरकारले कागज अभावमा विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परिक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द नै गर्नु परेको कुरा त्यहाका प्रमुख अधिकारीहरुले जनाएका छन् ।
यहि आउदो सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट ) कागजकै अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । अहिले श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै यो ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।
‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्’, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो । यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएको कुरा जानकारहरुले बताएका छन। यो परिक्षा/टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्यांकन प्रक्रियाको एउटा अंश हो । अत्यावश्यक आयातका लागि आवश्यक पर्ने विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटका कारण देशमा खाद्यान्न, इन्धन,औषधि र अन्य दैनिक उपभोग्य बस्तुहरुको चरम अभाव देखिएको कुरा विभिन्न संचार माध्यमहरुले जनाएका छन । [Ausnepalnews:Kathmandu]








