नेपाली पाठशाला किन जोगाउने?

ब्रिसवेन। कति राम्रो नाति केटो रै’छ। किस्नजी जस्तो।
बावु हाम्ले बोलेको बुझ्छौ ? चौहत्तर वर्षकी हजुरआमाले जेठो छोरोको गाला मुसार्दै सोध्नुभयो। नाति केटो लजायो। आफ्नी आमाको पछाडी लुक्यो। केहि बोलेन।

बिदेसमा जन्मेका बच्चा, राम्रा भएर के गर्नु? कागजका फुल जस्ता। हाम्रा कुरा बुझ्दैनन्। लण्डनको मेरी नातिनि पनि केही बोल्दिन। उसकै कुरा मात्र बुझ्छे, उसकै कुरा गर्छे। हामीलाई चैं सार्है खल्लो। जति सकिन्छ आफ्नो भाषा बुझ्ने चैं बनाउ है बावु। भरिएका आँखा रसाउनु अघि एकपटक घुँक्क सुनें। अनुहार हेर्ने आँट आएन।

आमोइसँगको केही घण्टाको भलाकुसारिपछि खाजा खाने समय भयो। नाति केटो पनि अलिक सहज भयो।
आमा! हजुर चिया खाइसिन्छ? – नातिले सोध्यो। आमोइको हर्षको सिमा रहेन। बावुले नेपाली बोल्दोरछ त? अघि किन नबोलेको? आमोइले नातीलाई ग्वार्ल्याम्म अँगालो हालेको देखें। बाँध फुट्यो। हर्षको आँसुले बल्ल बाटो भेट्टायो।

असाध्यै खुसि लाग्यो बावु। मैले नातिनिलाई नेपाली सिकाओ, हामीलाई पनि सजिलो हुन्छ भनेर कति भनें। छोरा बुहारिले कहिल्यै सुनेनन्। अहिले त्यो मोबाइलमा नातिनि हेर्न मन लाग्छ तर नातिनी हाम्रो कुरा बुझ्छे मात्रै, फर्काउन जान्दिन। असाध्यै नरमाइलो लाग्छ बावु। भाषै नबुझेपछि के गर्नु? कागजको फुल। देख्दा राम्रो, सुगन्ध छैन।

किन नातिनिलाई नेपाली नसिकाको रे त आमोइ? मलाई जान्न मन लाग्यो। खै बावु? अब यतैको भइसकी नेपाली सिकाएर के काम भन्छन्। फेरि दुइटा भाषा सिकाउँदा बच्चालाई बोल्न गार्हो हुन्छ रे। उता हाम्रो भाषा काम लाग्ने पनि हैन रे। कुरा त ठिकै हो तर हामीलाई चैं साउँ भन्दा ब्याज प्यारो भन्छन् नी। यो बावुलाई चैं गार्हो हुँदैन बाबू। अनि स्कुलमा पनि बिर्सेर नेपाली नै बोल्यो भने ?

माछोलाई पौडिन सिकाउनु पर्दैन आमोइ। सबैको आ-आफ्नै बाध्यता होला। हामी चैं सकभर घरमा नेपाली नै बोल्छौं। नेपाली बोल्न नै लगाउँछौं। यसले राम्रो नेपाली बोल्छ र बुझ्छ पनि। तर, अलिक धेरै लाज मान्छ।

ए! अनि त्यतातिर पनि नेपाली स्कुल हुन्छ र बावु ? स्कुल नै त हुँदैन आमोइ। ठाउँ अनुसार आफू आफू मिलेर स्कुलमा जस्तै नेपाली चैं पढाउँछन्। हाम्रोतिर त्यसलाई पाठशाला भन्ने गरेका छौं। पाँच वर्ष भयो। पन्ध्र दिनमा दुई घण्टाजति पढाउने गरेका थियौं। तर भुराहरुलाई त्यतिले पुगेन। त्यसैले हप्ताको एक दिन गर्न थाल्याछौं। भुराहरु सजिलै पढ्न मान्दैनन्। सिकाउन असाध्यै गार्हो छ। सिड्नीतिर अलि धेरै नेपालीहरु बस्ने ठाउँमा चैं स्कुलमानै नेपाली भाषा पढाइ हुन्छ। हाम्रोतिर चैं हामी आफैं जेनतेन केही सिकाउन सकिन्छ कि भनेर कोसिस गर्दैछौं।

ए! जाति भो नि बावु। यति त बोल्न सक्दोरैछ। लाखै भो।
हो आमोइ, तर जति कोसिस गरेपनि बच्चाबच्चीहरुले सिक्ने भनेको घरमा नै हो। बाआमाले नै भाषा के काम, पढेर के गर्ने, अब चाहिने होइन क्यार भन्यो भने चैं बच्चाहरुले सिक्दैनन्। समस्या सबैतिर उस्तै त हो आमोइ। बच्चालाई त पढाउन सकिन्छ, बाआमालाई त झन् गार्हो छ। म हाँसे। आमोइ पनि। सायद लाक्षणिक अर्थ बुझ्नुभयो।

मनमनै सोचें। हाम्रातिर पनि त झण्डै सत्तरिजना भन्दा बढि बच्चाबच्चि छन्। पठशालामा कति बच्चा आउँछन् र? आफैंलाई प्रश्न गरें। के तीनका बाआमा पनि नाथे नेपाली भाषा किन चाहियो भन्दा हुन्? नेपाली भाषा पढेर के गर्नु भन्दै कनिकुथी अँग्रेजी बोल्दाहुन्? कतिले पो भाषा पढाउने जाँगर देखाएका छन् र खै?

जो बच्चाहरु नेपाली बोल्न जान्दैनन् उनका हजुरबा हजुरआमाको पनि त नेपालमा पीडा कम होला र? हामी पो भाग्यमानी छौं। जहाँ सिद्धार्थजी हरेक आइतवार कुन पर्वका विषयमा बच्चाहरुलाई पढाउने, कुन परिकारका विषयमा सिकाउने र कस्ता शब्द बोल्दा बच्चाहरुलाई बुझ्न सजिलो होला भन्दै घोत्लिन्छन्। सुजनजी ताला चाबि जुटाएर कक्षा कोठाको जोहो गर्छन्। ज्योतीजी कखरा सिकाउन हप्ताभरिको थकाइ भुलेर केही समय भुराहरुका लागि निकाल्छिन्।

के विदेसमा बसेर भाषा र संस्कृति सिकाउन सजिलो होला र? यी सबैले तलबबिनाको यो काम किन र कसका लागि गरेका होलान् ? हामीले कतै भुराहरुका बाआमालाई यसको महत्व बुझाउन पो सकेनौ की? अथवा हामीले उनिहरुले आशा गरे अनुरुप प्रगति पो गर्न सकेनौ की?

हुन त यहाँ पनि नेपाली कुरुप राजनितिको माखे साङ्लो नभएको होइन। तर जे भएपनि पाठशालालाई कसैको राजनितिक भर्याङ्को सिँढि बन्न दिने कि नदिने त्यो हाम्रै हातमा छ। कसैको छातीको नाप लिएर अनलाइन पत्रिकाको भित्तोमा तनक्क तन्किएको फोटो छपाएर खिस्स हाँस्ने रहर पनि होला। त्यसो भन्दैमा हाम्रा भुराहरुले आफ्नो भाषा र संस्कृतिका बारेमा बुझ्न पाउने यो तिर्थस्थललाई प्रदुषित गर्नु हुन्न। बरु सबैले यथास्थानबाट सकेको सहयोग गरौं। कम्तिमा पनि नेपालमा बस्ने बुढि आमैले जस्तो आँसु खसाल्नु नपरोस्। आगे तपाईंको मर्जी।

सम्बन्धित शिर्षकहरु