काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्ध टी–२० सिरिज जितेको छ । बुधबार सम्पन्न दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो।
यससँगै नेपालले नयाँ इतिहास रचेको छ। नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतारले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान आयशाले २४ र केरी पाउनसेटले १५ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।
नेपालका लागि सरस्वती कुमारीले उत्कृष्ट बलिङ गरिन्। उनले ४ ओभरमा मात्र ८ रन खर्चिएर ४ विकेट लिइन्। यसक्रममा उनले एक ओभर मेडनसमेत राखिन्।
यस्तै, कप्तान रुविना क्षत्रीले २ तथा सबनम राई, कविता जोशी र संगीता राईले १र१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।
नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन्। त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन्।
कतारकी एन्जेली मरेले दुई विकेट लिइन् भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए।
आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो।








