काठमाडौँ, साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् ।
विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ ।
मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मूल मन्दिरमा पूजा, आराधना गर्न नपाएपनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेर फर्कन बाध्य छन् ।
राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
गोकर्णेश्वर मन्दिर पनि बन्द
यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसमरमा भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना महामारीको जोखिम कायम रहेकाले बन्द गरिएको छ ।
पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यता समेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर बन्द हुँदा गोकर्णेश्वरमा भक्तजनको भीड बढ्न सक्ने भएको मन्दिर बन्द गरिएको हो । सूचना प्रकाशन गरेर मन्दिर बन्द गरी नित्य पूजामात्र गर्ने व्यवस्था मिाइएको गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले राससलाई जानकारी दिनुभयो ।

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गरेकामा कोरोनाका कारण बन्द गरिएको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवर सहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिर लगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण गत वर्ष र यस वर्ष पनि प्रभावित भएको छ ।
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दुध लगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा समेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ । यस वर्ष साउन महिनामा १८ दिन रुद्री जुरेको समितिले जनाएको छ ।
नागेश्वरमा भक्तजनलाई बाहिरबाट दर्शको व्यवस्था
यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर बन्द गरिएपनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी दूरी कायम गरेर बाहिरबाट दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।
कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । साउन महिनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाट समेत राहत मिल्ने धार्मिक विश्वास छ ।








