काठमाडौँ । नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञान संबन्धी गतिविधिमार्फत् नेपाललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन लागिपर्ने अभियानकर्मी सम्मानित भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार विसं २०७७ सालका लागि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई प्रदान गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा द्वालगायत विज्ञान प्रविधि क्षेत्रमा काम गर्न अभियानकर्मीलाई पुरस्कृत गर्नुभएको थियो । सोसाइटीले खगोल विज्ञानका क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसारको महत्व तथा भुमिकालाई मनन गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकृय रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई विसं २०४२ देखि सम्मानित गर्दै आएको छ । नेपालमै केही गर्ने सोच भएका बहुआयामिक अवसरको खोजी तथा सृजना गर्ने युवालाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्ने विश्वास सोसाइटीले व्यक्त गरेको छ ।
सम्मानले नास्ट लगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, संघ, संस्था (विद्यालय तथा विश्वविद्यालयसमेत) सँगको सहकार्यमा नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धी गतिविधिलाई थप उर्जा मिलेको महसुस गरेको सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।








