काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सस्यता विवाद टुंग्याएर केन्द्रीय समितिलाई आज प्रतिवेदन बुझाउनुपर्नेमा पूरा हुन सकेन ।
यसका कारण काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार असार २० गते अर्थात् आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई बुझाउनुपर्ने तालिका सार्वजनिक भएको थियो । छानबिन समितिले अहिलेसम्म ३० जिल्लाको सदस्यता विवाद समाधान गरेर अन्तिम रुप दिएको छ ।
बाँकी ४७ जिल्लाबारे निर्णय लिन बाँकी रहेको समितिले जनाएको छ । त्यसमध्ये कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील वितरणको काम जारी नै छ ।

सदस्यता छानबिन समितिले गौशालास्थित नेपाल–भारत मैत्री भवनमा बसेर काम गरिरहेको छ । कार्यतालिका अनुसार आज क्रियाशील सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउन नसकिने समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । ‘विवाद समाधानको विधि र मापदण्डबारे पदाधिकारी बैठकले नै ढिलो गरी निर्णय गरेकोले केही समय लाग्ने देखियो, ३० जिल्लाको विवाद समाधान गरेका छौँ, सबै टुंग्याउन अझैं हप्तादेखि दसदिनसम्म लाग्छ’–उहाँले भन्नुभयो ।
कांग्रेस केन्द्रीय समितिको २०७७ फागुन ६ गतेको बैठकले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, प्रदीप पौडेल, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् । महाधिवेशन कार्यतालिका अनुसार असार ३० गतेभित्र केन्द्रीय समितिले निर्वाचन समितिलाई क्रियाशील सदस्यता सूची बुझाउनुपर्नेछ ।
कार्यतालिका अनुसार काम नभएपछि १४ औँ महाधिवेशन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने संशय उत्पन्न भएको पार्टीका नेता, कार्यकर्ता बताउँछन् ।








