कालीगण्डकी वहाव परिवर्तन आयोजनाप्रति गुरुकुल परिषद्को आपत्ति, प्राचीन सभ्यता मासिँदै

काठमाडौँ । प्राचीनकालदेखि चलिआएको वैदिक परम्परा मास्न कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजनाप्रति राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले आपत्ति जनाएको छ ।
सरोकार भएका निकायसँग विमर्श नै नगरी सभ्यता मास्न राज्यसत्ता नै लाग्नु बिडम्बना भएको परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरिले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण परिषद्ले गराएको छ ।

 

 

“प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्षपरम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीलाई निश्चित व्यक्ति र झुण्डको स्वार्थमा मौलिक वहाव नै परिवर्तन गरी अन्यत्र लैजाने खेदजनक योजनाप्रति घोर भत्र्सना छ”–अध्यक्ष गिरिले भन्नुभयो ।
करोडौँ सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि कुठाराघात गर्ने कथित कालीगण्डकी डाइभर्सन परियोजना अविलम्ब रद्ध गर्न परिषद्ले सरकारसँग माग गरेको छ ।
कालीगण्डकीलाई राष्ट्रिय सम्पदाको रुपमा संरक्षण गर्नुपर्नेमा जोड सरोकार भएका निकायले जोड दिएका छन् । आस्था, संस्कार, संस्कृति र सभ्यतामाथि खेलवाड गरी परियोजना अघि बढेमा जनस्तरबाट सशक्त कदम चाल्न बाध्य हुने र सो को दुष्परिणाम गम्भीर हुनसक्ने परिषद्ले जनाएको छ ।
गुरुकुल शिक्षा पद्धतिका अनन्त स्रोतका रुपमा रहेका नदीका तटमा नै अहिले पनि गुरुकुल र आश्रम चलिरहेका छन् । प्राचीनकालदेखि नै गुरुकुल नदी किनारमै सञ्चालन हुँदै आएको छ । शिक्षा आर्जनको माध्यम बनेका नदी प्राचीन सभ्यताका साक्षी भएकाले यसको संरक्षणमा सबैको साथ हुनुपर्नेमा परिषद्ले जोड दिएको छ ।

सम्बन्धित शिर्षकहरु