काठमाडौं । अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ। कयौं मानिस बेपत्ता भएका छन् भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।
लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ। केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै छ।
बुधबार सात जनाको शव फेला परेको छ। शवको पहिचान भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा गएको पहिरोका कारण थुनिएर आएको मेलम्ची खोलाको बाढीले सातजना हराइरहेका छन्।








