भियना, सिरिया लेवनानलगायत अन्य हिंसाग्रस्त देशहरुबाट युरोप छिर्ने आप्रवासीको सङ्ख्या लगातार वृद्धि भइराखेको अस्ट्रियाको गृह मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो समयमा अष्ट्रियाको बाटो भएर कैयौँ आप्रवासीहरु बाहिरिएका छन् ।
गएको सेप्टेम्बर महिनामामात्र सो देश भएर जाने आप्रवासीको सङ्ख्या दुई लाख नाघेको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
विभिन्न द्वन्द्वग्रस्त देशबाट दुइ लाखभन्दा बढी शरणार्थी यही सेप्टेम्बर महिनामा मात्र अष्ट्रिय भएर गएको सो समाचारमा जनाइएको छ ।
धेरैजसो शरणार्थी हङ्गेरीको सिमाना हुँदै निकल्सडोफ आइपुगेका अस्ट्रिया सरकारले जनाएको छ ।
केही दिनमात्र यता पनि करिब २० हजार आप्रवासी हङ्गेरीको सङ्कटकालीन आश्रयस्थलमा शिविर बस्दै आएको र अस्ट्रिया प्रवेश गर्ने योजना बनाएको, अस्ट्रिया आइपुगेका एक आप्रवासी शरणार्थीले जनाए ।
उनीहरू मङ्गलबार रातिसम्म निकल्सडोपफ आइपुगेका पनि बताइएको छ । मन्त्रालयको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
अष्ट्रियाको एपिए समाचार समितिले दिएको जानकारीअनुसार सो देश भएर कम्तीमा पनि दुई लाख शरणार्थी बाहिरिएका तर रेलमार्गबाट यात्रा गर्ने उनीहरुको तथ्याङ्क राख्न असम्भव रहेको पनि बताइएको छ ।
रेलमार्गबाट आवत जावत गरिरहेका शरणार्थीको सङ्ख्या यकिन रुपमा भन्न गाह्रो रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विभिन्न देशमा जारी हिंसा, आन्तरिक राजनीतिक आन्दोलनका साथै विभिन्न आतङ्ककारी क्रियाकलापहरुका कारण पछिल्लो समयमा युरोपमा आप्रवासीहरुको सङ्ख्या बढ्दो मात्रामा रहेको छ ।








