बार्सिलोना काडिजसँग बराबरीमा रोकियो, मेसीको किर्तिमान

काठमाडौं  । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार आइतबार घरेलु मैदान नाउ क्यापमा भएको खेलमा बार्सिलोनालाई काडिजले १-१ गोलमा रोकेको हो ।
खेलको ३३औं मिनेटमा पेड्रीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत बार्सिलोना अग्रता लिएको थियो। उक्त पेनाल्टी कप्तान लिओनल मेसीले सदुपयोग गरेका थिए। तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो ।

यो बराबरीपछि बार्सिलोनाले रियल म्याड्रिडसँगको अंक दुरीलाई कम गर्न असफल भएको छ । बार्सिलोनाको २३ खेलमा ४७ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । लिगमा शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको २३ खेलमा ५५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ ।

त्यस्तै काडिजको २४ खेलमा २५ अंक रहेको छ भने लिगमा १४औ स्थानमा रहेको छ ।

मेसीको किर्तिमान

लियोनेल मेसीबाट बार्सिलोनाबाट ला लिगामा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार काडिजविरुद्धको खेलमा खेल्दै मेसीले बार्सिलोनाबाट ला लिगामा ५०६ खेल खेल्दै यस्तो किर्तिमान बनाएका हुन् ।

मेसीले यस अघि बार्सिलोनाका लिजेण्ड खेलाडी जाभी हर्नान्डेजले बनाएको ५०५ खेलको किर्तिमानको बराबरी गरेका थिए ।

ला लिगाको खेलमा जाभीलाई उछिनेर मेसी अगाडी गएपनि समग्रमा भने अझै जाभी नै अगाडी रहेका छन् । जाभीले बार्सिलोनाका लागि ला लिगाका ५०५ सहित कुल ७६७ खेल खेलेका थिए भने मेसीले आजको खेलसहित ७६१ खेल खेलेका छन् ।

मेसी र जाभी पछि बार्सिलोनाका लागि लिग धेरै खेल्ने खेलाडी आन्द्रे इनेस्टा हुन् । २०१८ मा बार्सिलोना छोडेका इनेस्टाले ला लिगाका ४४२ सहित बार्सिलोनाका लागि कुल६७४ खेल खेलेका छन् ।

त्यस्तै सर्जियो बस्क्वेटसले लिगका ३९९ सहित ६१० खेल खेलेका छन् भने कार्लोस पुयोलले लिगका ३९२ सहित कुल ५९३ खेल खेलेका छन् ।

सम्बन्धित शिर्षकहरु