बुहार्तन (गीत) -शब्द लहर, अँक ३० – प्रविण टण्डन

          बुहार्तन

घर एउटा गाउँबीच, फुर्के खोला पारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

पारिलो घाम दिउँसोमा, राती भने बतासिने

ठाडो भीर पारी पाखा, एक्लै मन अतासिने

बाटोमुनि बाँसको झ्याँग, छेउमा सिस्नो घारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

टिनले छा’को घर सँगै, दाउरा राख्ने झुप्रो

सानो घर भए’पनि, दु:ख छ ‘रे थुप्रो

एउटा खेत खोला पारी, एउटा खोला वारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

भीड दिउँसो पँधेरामा, खाली हुने राती

सँगीसँगै गीत गाउँदै, पानी बोक्न जाती

गाग्रो फेरि बिसाएर, बोक्न घाँसको भारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

एक हातले घाँसको टुप्पो, हँसिया आर्को हात

जुन-तारा टल्पलाउँदै, बाँकी अझै रात

कुप्री पारी बोक्नु पर्ने, नाम्लो माथि सारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

देख्नसाथ परैबाट, कराउने गाई

झुक्काउन सक्छ गोरु, नचराउनेलाई

एउटा गाई दुधालु त, भैंसी एउटा थारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

एकहाते गाई पनि, दुहुन कति गार्हो

कैले दुधै नदिने रे, कैले बग्ने धारो

दुध दिनेलाई चिन्ने पनि, लगाउँदा सारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

रातीका ती भाँडाहरु, घोटी टल्काएर

कसौंडीमा दुध राखी, धुप सल्काएर

भात पकाइ बारी हिंड्ने, सातु पोको पारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

वनको छेउमा खेती ला’को, बाँदर ती दँग

खान सबै अघि सर्ने, काममा को र’ सँग

बारी पनि बनाएको, डाँडो सारा खारी’ रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

माटो पनि कति साह्रो, डल्ला फुटाउन

ढीलो फेरि हुने हो कि, धान कुटाउन

कोदालीको बिंड भन्दा, सानो खन्ने नारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

टन्टलापुर घाम आउँदा, चक्कर आउला जस्तो

भा’को छैन उमेर काल, भक्खर आउला जस्तो

पालेकी त्यो सँसारलाई, आत्मा आफ्नै मारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

मिल पनि कति टाढा, एकै मील पर

धोक्रो बोकी फर्किंदा त, वस्तु भोकै घर

आटो पेटमा पर्ने अब, डाले घाँस झारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

धर्ती था’की सुत्दा पनि, बस्न नपाइने

बाँकी र’को आटो खाँदा, ढुङ्गा चपाइने

कसले सोच्न सक्छ सँसार, यति अत्याचारी रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

देख्छौ कि त दैव तिम्ले, एउटीको दु:ख

जन्मे’देखि बाँचुन्जेल, दिंदैनौ कि सुख

जिताउन दुनियाँलाई, जीवन आफ्नो हारी’ रै’छ

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

माथि हेर्यो सिस्ने लेख, तल हेर्यो बारी रै

********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु