काठमाडौं । नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका अवसरमा नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टाहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू घोषणा गरिएको छ ।
गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाका अनुसार, नेपाली सङ्गीतको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान एवं पुरस्कारहरू प्रदान गरिँदै आएको छ ।
२०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान बरिष्ठ सङ्गीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ । बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७६ प्रदान गरिने भएको छ । पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।
मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ । जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार–२०७६ र पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने समाजले जनाएको छ ।






