कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो


काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको राम जानकी अस्पतालमा साउन २५गते उपचारको क्रममा मृत्यु भएको छ। उनी क्षयरोग तथा मधुमेहका रोगी रहेको मन्त्रालयले जनाएको छ।

त्यसै गरी साउन २८ धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीय महिलाको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा साउन २८ गते मृत्यु भएको छ। उनी मुटुरोगका बिरामी थिए।

यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा साउन २८ गते मृत्यु भएको छ। उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु