साउनको १५ गते अर्थात खीर खाने दिन, कसरी बनाउने स्वादिष्ट खीर ?

काठमाडौं । साउनको १५ गते अर्थात खीर खाने दिन । हाम्रो नेपाली परम्परामा ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ मा हामी दहि च्यिूरा खान्छौ भने साउन १५ गते खीर । माघे सक्रातिमा तरुल, चाकु खान्छौ भने जनै पूर्णिमामा क्वाटी खाने गर्दछौ । हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्।

आजका दिन हामीहरुले गाईभैँसीको दूधमा मिल्ने स्थानीय जातका चामल, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, मरिच र दालचिनीजस्ता मसला मिसाएपछि स्वादिलो र पोषिलो खीर बनाएर खान्छौं ।

साउन १५ मै खीर खाने चलन कसरी चल्यो ?

हरियालीको महिना साउन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने गर्छ। प्रशस्त घाँसपात हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन्। गाँउघरमा पहिले पहिले दूध बेच्ने प्रचलन थिएन । अब दूधको गर्ने के ? प्रशस्त दूध भएपछि उपयोग त गर्नैपर्‍यो। मुखको स्वाद फेर्न, असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खीर खाने चलन चलेको विज्ञहरुको दाबी छ ।

शाहाकारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। त्यसो त साउन १५ लाई खीर खाने पर्वको रूपमा लिइन्छ। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।

साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा खीर उपयुक्त मानिन्छ। खीर हामी सबैलाई मन पर्नेमध्येको परिकार हो।

हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं। साउनमा त अझ खीरको प्रयोग बढी हुने भएकाले यस पटक हामीले स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधि यहाँ प्रस्तुत गरेका छौं।

खीर पकाउने आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) : १ कप

– दुध : १ लिटर

– चिनी : १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) : २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा

– सुकुमेल : २-३ पिस

– किसमिस : ६-७ पिस

– ल्वाङ : २-३ पिस

– तेजपात : १-२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात

पनि हाल्ने।

– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२-१५ मिनट पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।

– अब मनतातो अवस्थामा खीर खाने ।

यस्ता छन् फाइदा

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ।

चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।

गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।

खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ।

खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ।

खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।

खीर बच्चा, वृद्ध सबैलाई युपयुक्त खानेकुरा हो।

तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान युपयुक्त हुन्छ।

पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

सम्बन्धित शिर्षकहरु