कोरोनाको उच्च जोखिममा काठमाडौँ: १० दिनमा तीन गुणा बढे संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । हरेक दिन संक्रमितको संख्या बढदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका कोरोनाकोउच्च जोखिममा परेको जनाएको हो ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या कमी आउँदा काठमाडौं उपत्यकामा भन बढेको हो । सोमबार मात्रै देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका थप जोखिममा पर्दै गएको हो ।

१० दिनमा तीन गुणा बढ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १० दिनअघि कोरोना संक्रमितको संख्या ७८ जना मात्रै थियो । सोमबार यो संख्या तीन गुणा ९२ सय ३९० पुगेको छ । तीमध्ये १ सय १३ जना महिला र १ सय २६ जना पुरुष छन् । तीनै जिल्लामा पछिल्लो एक सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १५ सम्म ९२ जना संक्रमित रहेकामा १६ गते १ सय ६ जना पुग्यो । १७ गते १ सय २३ संक्रमित थिए भने १८ गते यो संख्या बढेर १ सय ५५ पुग्यो ।

आइतबार १ सय ८५ जना संक्रमित रहेकामा सोमबार २ सय ३९ पुगेको छ । वैशाख ३० सम्म संक्रमितको संख्या सात जना मात्रै थिए । जेठ १५ मा संक्रमितको संख्या २४ जना पुग्यो । जेठ अन्तिममा भने संक्रमितको संख्या ३९ मा सीमित रहेकामा असार १३ मा ८३ जना भयो । यसरी काठमाडौं उपत्यकामा देखिएको संक्रमितको तथ्यांक केलाउँदा असार १६ देखि मात्रै तीन अंकले बढेको देखिन्छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा संक्रमित दर पनि बढी छ । असार १६ मा ७२ जना संक्रमित रहेकामा १८ मा १ सय १० पुगेको थियो ।

काठमाडौंमा आइतबार संक्रमितको संख्या १ सय ३७ थियो । सोमबार यो संख्या बढेर १ सय ६१ पुगेको हो । ललितपुरमा जेठ ६ मा कन्ट्याक्ट ट्रेसिङमै खटिएका चिकित्सकलाई संक्रमण देखिएको थियो । भक्तपुरमा भने सुनसरीबाट आएर ठिमीमा साथीको कोठामा बसेकी युवती र सशस्त्र प्रहरीको जवानलाई पहिलो पटक कोरोना देखिएको थियो ।

ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई अझै अस्पताल ल्याइएको छैन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको ईडीसीडीले जानकारी दिएको छ । पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनरल बेड भरिएपछि आईसीयूमा भर्ना गरेर उपचार भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार आईसीयूमा आठ जनालाई भर्ना गरिएको छ । एक सातायता उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि ईडीसीडीमा कन्ट्याक्ट ट्रेसिङको जिम्मा पाएकाहरूको व्यस्तता निकै बढेको छ । ईडीसीडीका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेको हो । ‘अहिले पनि संक्रमितको विश्लेषण गर्दा अधिकांश संक्रमण विदेशबाट भित्रिएको देखिन्छ,’ पाण्डेले भन्नुभयो, ‘केही स्थानमा लोकल ट्रान्समिसन पनि छ तर समुदायमै गइसक्यो भनेर ठोकुवा गर्न मिल्ने अवस्था छैन ।’

पाण््डेले काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको संख्याले यो आशंकालाई थप बल मिलेको छ । त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि ईडीसीडीलाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार यो तथ्यलाई दृष्टिगत गरी ट्राभल हिस्ट्री नदेखिएका संक्रमित भेटिएका स्थानबाट करिब एक सय जनाको हाराहारीमा थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्न थालिएको छ । सबै १२ स्थानमा परीक्षण सकिएपछि अवस्था के हो भन्ने थाहा हुने मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम बताउनु हुन्छ ।

उहाँका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ । जसअन्तर्गत तीनकुने, नख्खु र कोटेश्वरबाट नमुना संकलन गरेर परीक्षणसमेत भइसकेको छ । त्यसमा सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै टोखाको रिपोर्ट आउन बाँकी नै छ भने शंखमूल र बोडेबाट सोमबार नमुना संकलन गरिएको छ । बाँकी स्थानबाट पनि छिट्टै नमुना संकलन गर्ने व्यवस्था मिलाइँदै छ ।

यसरी ट्राभल हिस्ट्री नै नभई संक्रमित भएकाहरूमा सानोमा ४ वर्षीया बालिकादेखि ठूलोमा ६५ वर्षीया महिलासम्म छन् । तीमध्ये ४, ५ १४ र १८ वर्षका बालबालिका १–१ जना, २२ वर्षका २ जना, २५, ३२, ३४, ३५, ४५ र ६५ वर्षका १–१ जना छन् । डा.पाण्डेका अनुसार हालसम्म उपत्यकाका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितमध्ये लगभग सबै जनामा कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । १२ स्थानबाहेक पनि पुन ः थप केही स्थानमा ट्राभल हिस्ट्रीबिनाका संक्रमित फेला परेको उहाँको भनाई छ ।

सम्बन्धित शिर्षकहरु