कवि उदय निरौला
“ दूबो तिमी मलाई पुरानै मन पर्छ्यौ “
हे दूवो! तिमी
धेरै सफा नहुनु
सानो दागले पनि चिथोर्न सक्छ
सानै हिलोको बाछिटोले पनि गिजोल्न सक्छ
नमौलाउनु धेरै बगैंचामा
आधुनिक पिप भरिएका कस्मेटिक नङ्हरूले
तिमीलाई नङ्र्याउन सक्छ ।
छेपारोले नाघ्न पनि सक्छ
तिम्रो अस्मितालाई
कुकुरले पानी चढाउन पनि सक्छ
तिम्रो रङ्लाई।
धेरै धेरै थोक हुन सक्छ
धेरै स्निग्ध बन्यौ भने
बर्षादले थिच्न सक्छ
ऋतुहरूले निल्न सक्छ।
शान्त छ्यौ! तिमी र त दूबो छ्यौ
आँखामा किमार्थ नविजाउने मुलायम लालगेडी छौ तिमी!
र त मुलढोकामा उभिन्छ्यौ
र त पुजाको थालीमा सजिन्छ्यौ
अनि नै तिमी दूबो छ्यौ।
धेरै सुन्दर बन्यौ भने त !
तिमी खरिद बिक्रीको सोकेसमा बन्दी हुनेछ्यौ
ठिक्क चिटिक्क छ्यौ र त माला बन्छ्यौ
बढी नै भयौ भनेत पुजाको थालिबाट
लखेटिने छ्यौ खेदिनेछ्यौ र
निर्यातको बजारको काटाँमा चडाइने छ्यौ
साँच्चिकै तिमी सिञ्हो जोखिने छ्यौ।
च्याप च्यापबाट उठ्ने तिम्रो कला हराउनसक्छ
सानो बालक झैं बामेसर्ने ताति गर्ने तिम्रो बान्की
हराउनसक्छ।
हो !दूबो तिम्रो घाम नियाल्ने कला छेकिन सक्छ
थिचिएर किचिएर पनि उठ्न सक्ने
उभन सक्ने तिम्रो शोभा मेटिन सक्छ
त्यसैले दूबो तिम्रो पोस्ट मोर्डानिजम बान्की भन्दा
मलाई त तिम्रो पुरानै कला मन पर्छ
हो मानिसहरू! र खास मानिसहरू
तिमीलाई उहीँ र उस्तै पुरानै मन पराउछन्
हो दूबो! तिमीलाई किन किन थोत्रो पुरानो नै मन पराँउछन्
र मलाई पनि तिमी किन?किन?उहीँ उस्तै पुरानै कान्लाकै
घर आँगनकै मन पर्र्छ्यौ
हो पुरानै आँफ्नै आँगनकै मन पर्र्छ्यौ।







