लिम्पियाधुरा नेपालकै हो भन्‍ने यस्ता छन सरकारका ८ प्रमाण

काठमाडौं । सरकारले लिम्पियाधुरा नेपाल कै भएको पुष्टि गर्नको लागि विभिन्न ८ वटा प्रमाण तयार पारेको छ ।

नयाँ नक्सा सार्वजनिक गरिसकेपछि नेपालले कुटनीतिक पहल गर्न, तथा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई जानकारी दिनको लागि ८ वटा प्रमाण तयार पारेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न खोज तथा अनुसन्धान मार्फत ८ वटा प्रमाण तयार पारेको हो ।

यस्ता छ सरकारले तयार पारेको प्रमाण :

१. सुगौली सन्धि

सरकारले सुगौली सन्धिलाई पहिलो र सबै भन्दा बलियो प्रमाणको रुपमा लिएको छ । सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई मुलुकको सिमानाका रूपमा उल्लेख गरिएको छ । लिम्पियाधुरा काली नदी भन्दा नेपाल तर्फ नै पर्ने भएकोले सुगौली सन्धि अनुसार लिम्पियाधुरा नेपालको नै भएको पहिलो प्रमाण हो ।

२. पुरक सुगौली सन्धि

सुगौली सन्धिपछि १८१६ डिसेम्बर ८ मा पूरक सन्धि भएको थियो । त्यस संन्धिमा पश्चिमको राप्तीदेखि पूर्वको कोसी नदीसम्मका तराईका जिल्ला नेपाको कायम भएको थियो। यस पुरक सन्धिमा पनि लिम्पियाधुरा नेपाल तर्फ नै छ ।

३. १८५७ भारतले जारि गरेको नक्सा

सन् १८५७ मा भारतले एउटा नक्सा जारि गरेको थियो। त्यस नक्सामा कालीनदीलाई अन्तर्राष्ट्रिय सिमाना मानी कुटी, नाभी, छाङरु नेपालतर्फ राखिएको छ ।

४. १८६० को सम्झौता

सन् १८६० नोभेम्बर १ मा नेपाल र अंग्रेज सरकारबीच एउटा सम्झौता भएको थियो । सम्झौतामा नेपालको तर्फबाट श्री ३ जंगबहादुर राणा र अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जर्नेल जर्ज र्‍याम्सेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरि नेपालको भूभाग कायम गरिएको छ । त्यस नक्सामा पनि लिम्पियाधुरा नेपाल तर्फ नै देखाईएको छ ।

५. दाङको डुडुवा क्षेत्रको सीमांकन

सन् १८७५ जनवरी ७ मा नेपाल तर्फको सरकारको प्रतिनिधि र अंग्रेज सरकारको प्रतिनिधि सम्मिलित संयुक्त आयोगले दाङको डुडुवा क्षेत्रको सीमांकन गरेको थियो । त्यस नक्सामा पनि लिम्पियाधुरा नेपाल तर्फ नै देखाईएको छ ।

६. लिम्पियाधुराका नागरिकको बाली प्रमाण

सरकारले लिम्पियाधुराका नागरिकले नेपालको सरकारलाई बाली बुझाएको प्रमाण पनि फेला परेको छ । १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाबी र कुटी गाउँका बासिन्दाले अन्न र पैसा सरकारलाई बुझाएको रसिदी प्रमाण फेला पारेको हो ।

७. आम निर्वाचन

२०१५ सालमा नेपालमा आमनिर्वाचन हुँदा त्यस क्षेत्रको नागरिकको मतदाता नामावली पनि सरकारले प्रमाण स्वरुप पेश गर्ने भएको छ । आम निर्वाचनमा त्यस क्षेत्रका नागरिक सहभागी भएको प्रमाण सरकारले फेला पारेको हो ।

८. २०१८ को जनगणना

२०१८ मा जनगणना हुँदा लिम्पियाधुरा सहितका क्षेत्रको तथ्यांक संकलन गरेको प्रमाण पनि सरकारले तयार पारेको छ । २०१८ सालमा भएको राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागको अस्थायी अधिकृत भएर लिम्पियाधुरा वरिष्ठ पत्रकार भैरव रिसाल पुगेका थिए । केन्द्रीय तथ्यांक विभागको अस्थायी सेक्सन अफिसर (जोनल अफिसर) को रुपमा आफ्नो नेतृत्वमा खरदार, मुखिया र गणक भएर त्यस क्षेत्रमा जनगणना गरेको रिजाल बताउछन् ।

सरकारले यी बाहेक अरु विभिन्न ऐतिहासिक दस्तावेजले पनि लिम्पियाधुरा नेपाल कै भएको पुष्टि गर्ने प्रमाणहरु भेटिएको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु