उत्साहको अन्तरबन्धन :कविता उर्मिला कोइराला

उत्साहको अन्तरबन्धन
 – उर्मिला कोइराला

बदलिनु समयको चरित्र हो
बदलिन्छ र त समय समय भएर देखिन्छ
तर यो कठोर कहरमा पनि
सारमा खासै बदलिएको त छैन खासै केही
र गणित गणना गरेर केही भन्न सक्तिनँ
तर नबललिइकनै बदलिएझैँ लाग्छन् सबै कुरा
फेरिएझैँ लाग्छन् सृष्टिको स्वरूप र आकृति
खसेझैँ लाग्छ आकाश
पोखिएझैँ लाग्छ आकाशको पानी
जसरी मेरो हृदयबाट तिमीलाई पनि खोस्यो समयले
र अलि अलि गर्दै सर्दैसर्र्दै गयौ तिमी पनि
मेरो देशको सीमानाझैँ ।

उस्तै छ बिहानी र घामको किरण
उसैगरी बित्छ दिन
उस्तै छ साँझ अनि आकाश र जुनतारा
तर बर्सन्छ बेमौसमी झरी उही नीलै आकाशबाट पनि
पानीसँगैको प्रतिष्पर्धाझैँ
झर्छन् बेला न कुबेला मेरा आँखाका डिलहरू
र भत्काउँछन् हृदयका कुनाकुना
बाढ़ी र पहिरोले भत्काएका घरहरूझैँ
र छिमेकीले भत्काएको मेरो खेतको आलीझैँ ।

समय रोकिन्न भन्छन्
तर रोकिन्छ समयको डाम
भन्नेले इतिहास भनून्
वा समयको हिसाब
आज म बेहिसाब बाँचेको छु
लाग्छ तिमी पनि मैजस्तो छौ
एक्लो छौ, निराश छौ तर अस्तित्वको लडाइँमा छौ
लडेर पनि सीमास्तम्भले
सीमाको पहिचान लड्न नदिएझैँ ।

के भनूँ
तिमी एक्लो कि म एक्लो ?
के भनूँ
समय क्रूर कि नियति ?
के भनूँ
अस्तित्वको लडाइँ र जीवनको प्राप्ति उही हो कि होइन ?
छिमेकमा डोजर उभियो भन्दैमा
म सानो थुङ्गा फूल फुल्न किन छोडूँ ?

समयको रूप जे होला
तिम्रो र मेरो सम्बन्धको आकृति उही छ, उस्तै छ
रोएर दुख धोएको छु
धोएपछि देखिने सफापनले
तिम्रो मुहारमा बाल्ने छ शान्तिको दियो ।

तिमी र म स्वस्थ भयौँ भने
समय सङ्लिने छ
र सङ्लो समयले
देशको पाइलामा थप्ने छ उत्साहको गति ।

झरीको जीवन
झरेको पानीजस्तै हुनेरहेनछ
खुसीको अन्तरमा खुसीकै उत्साह खोजेर
म तिमीलाई पर्खिरहेको छु
जीवनको सार खोज्नुको पछाडि
बाँच्नुको रहस्य उत्तम हुनेछ
मृत्युको मुहारमा पनि त जीवनको खोजी छ
मृत्युसत्य बाँच्नका लागि पनि त जीवन चाहिन्छ ।

हे समय,
म जीवन बचाइराख्न चाहन्छु ।

– काभ्रे, हाल भक्तपुर।

सम्बन्धित शिर्षकहरु