कत्तरे माइला: कविता

कवि उदय निरौला

शीर्षक “कत्तरे माइला”

धैर्यतासँग मीत बोले पछि
कत्तरे माइलाले
मौनताको पाठ सिकेको थियो
तीन दसक पानी बगेछ माईखोलामा
एकनास हेरिरहेछ
जीवन धमिलो बगिरहेछ
गम्छ ऊ
फर्कन्छ जोशिलो विगततिर।
संझन्छ राँकोको अाँखामा छिचोलेका पच्याँङहरू
झोपडिबाट आफ्नो भविष्य बोकेर हिँडेको मित्रलाई
शुरक्षित गन्तव्यमा पुर्‍याउन रात्रीलाई लाठी बनाएको
भुटेका मकैलाई प्राणको साथी बनाएको
भविष्यमा रमाइलो घाम मजेरी भरी पोखिएको
वालवालीकाको कुपोषणको पेट साइजमा झरेको
मीठो कल्पनालाई
मीठो सपनालाई।
र ऐले वर्तमानमा साथी एक्लै चुचुरिएको।
अाँफूसँग फगत विगतको प्रतिविम्ब टाँसिएको ।।

ऐले माईखोलामा हैन धमिलो बाढी त कत्तरेको छात्ती भित्र बढी रहेछ छाम्छ छात्ती ऊ
ढुक् ढुक् ढुक् ढुक्
समय एकनास बगिरहेछ
टिक् टिक् टिक् टिक्।

माई गति नफेरी
बगिरहेको छ
छङ् छङ्
छङ् छङ्।।

जब भाका काट्यो घामले
दुई चार डाँडाहरू
उक्लने भन्दा अोर्लने बड्तै भयो
पानी बड्दै बड्दै गयो खोलामा
ऊ डुब्दै डुब्दै गयो
उसले विगतलाई लात् मारो
धैर्यता र साथीले पढाएको पाठलाई
पोको पारो एकसाथ
बगाई दियो खोलामा
पोको बग्दै बग्दै गयो
र अाँखाको नानीबाट लापता भयो
विलायो कत्तरेको सुकिलो ऐना
विलायो सपनाको प्रतिविम्ब पनि।।

ऊ अाजभोलि भन्न थालेको छ
नदेख्नु सपनाहरू
नसुत्नु थाङ्नोमा कसैले पाठ पढाए पनि
नकाट्नु बाँस र नबनाउनु भर्याङ् कसैलाई चढाउनका लागि
मुसाले काटि सकेका
माऊले धुज्याइसकेका
किताबहरू पढेर कुनै काम छैन
यो नयाँ कोठेबारीमा
गोभरा लागसकेको केरा गोडेर केही काम छैन
नयाँ विरूवा उमार्न
पुरानो बिजनको काम छैन
नयाँ खेत जोत्न
पुरानो हलोको काम छैन।।

किन वर्वराउँछ
कत्तरे माईला यसरी
हर्कध्वज सोच्न थालेकोछ
रतन कुमार खोज्न थालेको छ
छिचोलिनसक्नुको पर्वत माथिको अर्को पर्वत
छुनै नसकिने टुप्पो माथिको अर्को टुप्पो।

माईखोला एकनास सुसाइरहेछ
छङ् छङ् छङ् छङ्
समय
भित्तामा बजिरहेछ
टङ् टङ् टङ् टङ्
टङ् टङ् टङ् टङ्।।

कवि निरौलाका प्रकाशित कृतिहरु कोलाहल पिएर कविता सङ्ग्रह,जराहरु किमार्थ कविता सङ्ग्रह,कोर्दै मेट्दै निबन्धसङ्ग्रह,शीतको मफलर कविता सङ्ग्रह,उदय निरौलाका प्रतिनिधि कविताहरु छन भने उहाँले अनुराग साहित्यिक पत्रिका,मधुपर्क साहित्यिक मासिक,तथा सरकारी सेवाभित्रका साहित्यिक स्रष्टा र सिर्जना मा सम्पादकको रुपमा कार्य गर्नुभएको थियो।साथै उहाँ नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता (२०४८) मा प्रथम; ललिता काव्य पुरस्कार, प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मानबाट विभूषित, हुनुभएको छ।

 

सम्बन्धित शिर्षकहरु