स्वास्थ्य सामग्री ल्याउने सम्झौता रद्द, पाँच करोड रुपैयाँ धरौटी जफत

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादित सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरिएको जानकारी दिएका हुन्।

ओम्नी समूहले सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन नसकेका कारण रद्द गरिएको उनले मङ्गलबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा जानकारी दिए। सम्झौता रद्दसँगै ओम्नी समूहले राखेको ५ करोड रुपैयाँ धरौटीसमेत जफत गरिएको उनले बताए।

उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै श्रेष्ठले भोलि पुनः नयाँ टेन्डर आह्वान गरी आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाइने बताए।

‘अहिलेसम्म ओम्नीले १० प्रतिशतमात्र सामान ल्याइपुर्‍याएको छ। सम्झौता रद्द भएकाले भोलि आवश्यक सामान खरिदका लागि नयाँ टेन्डरको सूचना जारी गर्दैछौं,’ उनले भने।

तीनदिनभित्र आउने प्रस्तावमध्येमा सबैभन्दा सस्तोमा सामग्री दिने प्रस्ताव गर्ने कम्पनीलाई सामान खरिदका लागि छनाेट गरिने उनले जानकारी दिए। श्रेष्ठले सरकारले सार्वजनिक गर्ने सूचना अनुसार प्रस्ताव पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरे। सम्झौता भएको पाँच दिनभित्र सामग्री ल्याइ पुर्‍याउने गरी सम्झौता गरिने उनले बताए।

सम्बन्धित शिर्षकहरु