मंसिर २९ । त्रिभुवन उच्च माध्यामिक विद्यालय खलङ्गाको कक्षा ६ मा पढ्ने सर्मीला घरको कुरा उठ्नेवित्तिकै बारम्बार आँसु झारेर रुन थाल्छिन्।
जन्मदिने बाबाको टुङ्गो पनि नलागेको र आमा अमला परियारले पनि अर्कैसँग विवाह गरेर गएपछि सर्मीला बिचल्लीमा परेकी छिन्।
जन्म हुँदादेखि नै बाबाका बारेमा कुनै पत्तो नपाएकी सर्मीला तीन वर्षको उमेरमै आमा अमलाले अर्कैसँग विवाह गरेर गएपछि विचल्लीमा परेकी हुन्। तेह्र वर्षअघि आमा अमलाले छोरी सर्मीलालाई छोडेर अकैसँग विवाह गरेपछि मावली घरमा उनी बस्दै आएकी छिन्।
उमेर बढ्दै जाँदा उनी थाहा पाउने भइन अनि बाबाको खोजी गर्न थालिन्। पैंक–६ कफल्लाकी १६ वर्षीया सर्मीलालाई अहिले न घरमा बसेर सुख छ न विद्यालयमा पढेर सुख छ।
खुट्टाको अपाङ्ग रहेकी उनलाई पाल्ने पढाउने र अन्य सहयोग गर्ने कोही पनि नभएपछि ठूलो सङ्कट आइलागेको छ।
सर्मीलाले बुबा भनेर दाबी गरेका नरबहादुर रोकाय र आमा अमला परियारको अवैध सम्बन्धबाट उनको जन्म भएको भनिए पनि नरबहादुरले उनीसँगको नाता नस्वीकारेपछि उनी विचल्लीमा परेकी हुन्।
बुबाले आफूसँगको नाता नस्वीकारेपछि सर्मीलाले जिल्ला अदालत जाजरकोटमा नाता कायम गराइ पाउभनी मुद्दा दिएकी छिन्। महिला तथा बालबालिका कार्यालय जाजरकोटका बालकल्याण अधिकृत डम्बरबहादुर रोकायले सर्मीलालाई न्याय दिलाउनका लागि आफूहरुले विभिन्न निकायमा सहयोगका लागि पत्राचार गरेको बताए।
उनको पढाइ खर्चका लागि रु छ हजारसमेत सहयोग गरेको अधिकृत रोकायले बताए।
उनकी आमा गर्भवती भएकै बेला द्वन्द्व कालमै उनले बाबा भनेर दाबी गरेका नरबहादुर भागेर भारततिर लागेपछि सर्मीला मावली घरमै जन्मिएकी थिइन्।
द्वन्द्वकाल सकिएपछि उनका बुबा गाउँ फर्किए तर उनलाई नरबहादुरले कहिले पनि हेरेनन्। आमाले अर्कैसँग विवाह गरेपछि उनी ठूलो सङ्कटमा परिन्। एकातिर आमाबाबाको अभाव अर्काेतर्फ खुट्टा अपाङ्ग भएका समस्याले उनी रोएरै विद्यालय आउने र घरमा पनि रोएरै बस्ने गरेको बताउँछिन्।
मैले पढ्छु भने पनि कसले पढाइदिन्छ र? रुँदै उनले भनिन्। आमाले माया त गर्छिन् तर कान्छो बुबाले थाहा पाए मार्छन्, उनले दुखेसो गरिन्।
अदालतमा आफ्नोतर्फबाट साक्षी बसिदिनेसमेत कोही पनि नभएपछि झन समस्या परेको सर्मीलाले बताइन्। बुबाकातर्फबाट बोलिदिने मान्छे आए तर मेरा लागि बोलिदिने कोही भएन, सर्मीलाले भनिन्।
सँगै बसिरहेका मामालेसमेत मेरो साक्षी बस्न मान्नु भएन अब कसलाइ भन्न जाँउ? सर्मीलाले भनिन्।
खलङ्गा–३ बाहुनवडामा मामा नविन्द्र परियारसँग बस्दै आएकी उनलाई मामा माइजुले पनि पढ्न हुँदैन भनेर हप्काउने गरेको पीडित सर्मीलाले बताइन्। पढाइ खर्चका लागि सहयोग माग्न महिला तथा बालबालिका कार्यालयमा पुगेकी उनलाई कार्यालयले छ हजार सहयोग गरेको तर मामा नविन्द्रले एक सेट किताब किनेर अरु सबै पैसा लगिदिएको सर्मीलाले बताइन्।
उनलाई बुबासँग नाता कायम गराउने काममा कानुनी सहायता दिइरहेका अधिवक्ता सहदेवजङ्ग शाहले सर्मीलाको बाबासँग नाता कायम भएपछि मात्र उनको भविष्यको सुरक्षा हुने बताए।
पढाइको कुरामात्र नभएर उनको लालनपालन र सामाजिक सुरक्षाका लागिसमेत जुनसुकै सम्बन्धबाट जन्मिएको भए पनि बाबु छोरीको नाता कायम भएरै छोड्ने उनले उल्लेख गरे।रासस








