काठमाडौं । कोटेश्वर–कलंकी सडकखण्डमा चैत २ गतेदेखि सवारी दुर्घटना न्युनीकरण गर्न नयाँ नियम लागू हुनेभएको छ।
आउँदो आइतबारदेखि सो सडकखण्डमा यात्रुबाहक, मालबाहक, कम गतिमा गुड्ने सवारीसाधन र निजी तथा साना सवारीसाधनहरूको छुट्टाछुट्टै लेन व्यवस्था लागू हुने भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बायाँ सर्भिस लेनबाट यात्रुबाहक, मालबाहक, कम गतिमा गुड्ने सवारीसाधन चलाउने नियम लागू गर्न लागेको जानकारी दिएको छ। त्यस्तै दायाँ तर्फको मुख्य लेनबाट निजी तथा साना सवारीसाधन चलाउनु पर्ने व्यवस्था लागू हुनेछ।
‘यात्रुबाहक, मालबाहक र विस्तारै गुड्ने गाडीहरु बायाँ लेनबाट, साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्नेछन्,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, ‘यो अन्तर्राष्ट्रिय अभ्यास रहेकाले कार्यान्वयन गर्दा दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ।’
यो नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीले समिति समेत गठन गरेको महाशाखाले जानकारी दिएको छ। साथै सोही सडकखण्डमा मात्रै मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना हुने गरेको तथ्यांक छ।








