ललिता निवास: बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड डुब्ने,कुन कुन बैंकबाट लिइएको छ ऋण ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै नयाँ तरंग देखिएको छ ।

अख्तियारले १७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् ।

नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । ललिता निवासको जग्गामा ऋण दिने बैंक तथा वित्तीय संस्था पनि कारवाहीमा पर्ने भएका छन्।

ललिता निवासमा बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रूपैयाँ ऋण लगानी छ। अब यो ऋण बैंकहरू डुब्ने निश्चित भएको छ। साथै ऋण दिने बैंकलाई कारवाही गर्नु पर्ने दबाब राष्ट्र बैंकलाई परेको छ।

अख्तियारका अनुसार, ललिता निवास मुद्दामा सरकारी तथा सार्वजनिक जग्गाहरु ब्यक्ति विशेषको नामबाट अर्बौको धितो पारित भइ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेको देखिएको छ।

कुन कुन बैंकबाट लिइएको छ ऋण ?

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याई २ अर्ब ४१ करोड ६९ लाख ऋण लिएको अख्तियारको प्रतिवेदनले देखाएपछि राष्ट्र बैंकले पनि त्यसको खोजी सुरु गरेको छ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार २७ वटै वाणिज्य बैंकलाई ऋणको विवरण पठाउन पत्र काटेको छ।

नेपाल राष्ट्र बैंकमा आएको प्रारम्भिक जानकारीअनुसार ललिता निवासको जग्गा व्यक्तिगत नाममा नामसारी गरी करिब १५ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पाइएको छ।

सरकारी स्वामित्व समेत रहेको नेपाल बैंक लिमिटेड, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक लगायतका बैंकहरुबाट ऋण प्रवाह भएको हो।

तर कुन बैंकबाट कति रकम कस–कसले लिएको भन्ने जानकारी भने बैंकहरुको विवरण आएपछि मात्रै थाहा हुने राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित शिर्षकहरु