अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम गरेर भ्रमण वर्षको उद्घाटन

काठमाडौं ।  ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन त्रिपुरेश्वरस्थित रंगशालाबाट वर्षको पहिलो दिन जनवरी १ मा हुने भएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डडयन मन्त्रालयले विशेष समारोहका साथ भब्य रुपमा उद्घाटन गर्न लागेको जानाकारी दिएको हो ।

मन्त्री योगेश भट्टराईले सोमबार नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उक्त बारेका जानाकारी दिएका हुन् ।

उद्घाटनका दिन राजधानीमा प्रचारप्रसारका लागि बोर्डहरु राखिनेछ । भने, विभिन्न ठाउँबाट सस्कृति झल्कने विभिन्न झाँकी,र्‍याली सञ्चालन गरिनेछ र ती सबै रंगशालामा पुग्नेछन् ।

उद्घाटन कार्यक्रममा सहभागी हुने सबैलाई नेपाली कागजमा भ्रमण वर्ष सफल बनाउनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइने मन्त्री भट्टराईले बताए ।

उद्घाटन राष्ट्रपतिबाट,प्रधानमन्त्रीको सम्बोधन

नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हुने भएको छ । दशरथ रंगशालामा हजारौं मानिसहरुको बीचमा राष्ट्रपति भण्डारीले उद्घाटन गर्नेछिन् ।

भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी कर्मचारी, सबै प्रदेशका कार्यकारीहरु, मन्त्रिहरु तथा सम्पूर्ण क्षेत्रबाट मानिसहरु सहभागी गराइनेछ ।

पर्यटन वर्ष सफल पार्न सम्पूर्ण साझेदारहरुलाई प्रचारप्रसारमा समेत सहयोग गर्न पर्यटनमन्त्री योगेश भट्टराईले आग्रहसमेत गरेका छन् । उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम

नेपाल भ्रमण वर्षको उद्घाटन हुने दिन जनवरी १ तारिखको दिन बिहानैदेखि देशैभरि कार्यक्रम सुरु हुनेछन् । बिहानै पशुपतिमा १ सय ८ शंख बजाएर भ्रमण वर्षको उद्घोष हुनेछ । बौद्ध र स्वयम्भूमा सयौं बौद्ध भिक्षूहरुले विशेष मन्त्रोच्चारण गर्नेछन् ।

३ बजे रंगशाला पुग्नेगरी काठमाडौंका विभिन्न स्थानबाट विभिन्न संस्थाका झाँकी र र्‍याली दशरथ रंगशालामा पुग्नेछन् । पर्यटनसँग सम्बन्धित संस्थाका साथमा सात वटै प्रदेशका सांस्कृतिक झाँकी र र्‍याली पनि रंगशालामा पुग्नेछन् । कार्यक्रम समारोहमा १ सय वटा लाखे नाँच देखाउने तयारी छ ।

भ्रमण वर्षको ७ दिनअघि सातै प्रदेशका पर्यटकीय स्थल वराहक्षेत्र, जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पञ्चकोशी र शैलेश्वरीबाट ल्याइएका पर्यटन टर्चलाई राष्ट्रपतिसमक्ष बुझाउने पनि कार्यक्रम रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले विशेष कला प्रदर्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगितिक समूहले अहिलेसम्मकै ठूलो सांगितिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु