काठमाडौं । बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् ।
नयाँ ट्रेण्डको रुपमा आएको यसले सामाजिक सञ्जालमा नयाँ तरंगै ल्याएको छ । फेसएपको माध्यमबाट भर्खरको मानिस समेत बूढो देखिन्छन् तर यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।
आखिर के हो त यो फोसएप नामक मोबाइल एप्लिकेशन ?
फेसएप नामक एप्लिकेशन एप्पलको आइओएस र गुगलको एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध छ । यसको विकास रुसको वायरलेस ल्याब नामक कम्पनीले गरेको हो । सन् २०१७ मा सार्वजनिक गरिएको यो एप्लिकेशन न्युरल नेटवर्क प्रविधिमा आधारित रहेको निर्माता कम्पनीको दाबी छ ।
यसको माध्यमबाट कुनै पनि मानिसको तस्बीरलाई उमेर र लिङ्गलाई पत्याउने शैलीमै परिवर्तन गर्न सक्छ । उपलब्ध तस्बीरलाई बूढो, जवान विपरीत लिंग तथा कुनै पनि भावमा ढाल्न सक्ने कम्पनीको दाबी छ ।








