राजविराज । सप्तकोशी नदीमा एक आमा आफ्ना चार सन्तानलाई सँगै लगेर हाम फालेकी छन् । सप्तकोशी नदीको दक्षिण भागमा हामफालेकी सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षीया आमा रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिललाई भने प्रहरी र स्थानीयवासीले बेहोस अवस्थामा उद्दार गरेका छन् । बाँकी तीन बच्चा भने शनिबार साँझसम्म बेपत्ता छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीको दक्षिणतर्फ ती महिलाले चार सन्तानसहित हामफालेको स्थानीयको खबरपछि पुगेको प्रहरी टोलीले स्थानीयसँग मिलेर खोजीकार्य सुरु गरेपछि राती १० बजेतिर घटनास्थल भन्दा ५ सय मिटर टाढा पाँच वर्षीय छोरा तहसिललाई बेहोस अवस्थामा उद्दार गरेको थियो ।
रातभर खोजी कार्यमा व्यस्त प्रहरी र स्थानियवासीले आमा खातुनलाई पनि शनिबार बिहान ६ बजेतिर घटनास्थलबाट तीन किलोमिटर टाढाबाट बेहोस अवस्थामा उद्दार गरेको छ ।
आमा छोरा दुबैको भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । खातुनका तीन सन्तान भने अहिलेसम्म बेपत्ता छन् । प्रहरीका अनुसार खातुनका दुई र तीन वर्षीय छोरा तथा ६ वर्षीय छोरी अझै बेपत्ता छन् ।
सप्तकोशी नदीमा अहिले पानीको बहाब उच्च रहेकाले वेपत्ता बालबालिकालाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरुको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए ।
‘शुक्रबार राति ९ बजेदेखि नै हामी उपलब्ध साधन श्रोतको परिचालन गरि बेपत्ता रहेका खातुनका तीन सन्तानलाई खोज्ने कार्य जारि राखेका छौं,’ डीएसपी मिश्रले भने, ‘तर, पानीको बहाव उच्च रहेकाले सफलता मिल्न सकेको छैन ।’
उनले जिवितै उद्दार गरिएकी खातुनले घाटीमा बोकेको पर्सबाट गोलबजारबाट कोशी ब्यारेजसम्मको बसको टिकट तथा एक थान मोबाइल फेला परेको जानकारी पनि दिए । डीएसपी मिश्रले आफूहरु अहिले महिलाको उपचार र अनुसन्धानमै बढी केन्द्रित भएको बताए ।








