काठमाडौं । वर्षा गराउने मौसमी प्रणाली मनसुन नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असार ५ अर्थात् जुन २० तारिखका दिन (बिहीबार) पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको हो। यो क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार नेपालमा मनसुन सामान्यतया जुन १० तारिखमा भित्रिने गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो गरी प्रवेश गरेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ।
आकलनअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को केहि पश्चिमी भूभागहरूमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमश: न्यून वा अधिक वर्षा भएको मानिने मौसमविद् बताउँछन्।







