विश्व–११ टोलीमा नेपालको प्रतिनिधित्व गर्न सन्दीप लामिछाने अाज लण्डन जाँदै

काठमाडाैँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग(आइपीएल) मा भन्दा विश्व–११ टोली मार्फत देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो अवसर भएको बताएका छन्।  सन्दीप वेष्ट इण्डिजविरुद्ध लर्डसमा हुने च्यारिटी खेल खेल्न मंगलबार राति लण्डन जादैछन्। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को विश्व–११ टोलीको प्रतिनिधित्व गर्दै सन्दीपले वेष्ट इन्डिजविरुद्ध खेल्नेछन्।

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले भने, ‘आइपीएल एउटा लिग मात्रै हो, तर खेलाडीका लागि लिग भन्दा देशको प्रतिनिधित्व गर्दै खेल्दा छुट्टै गर्वको महसुस हुन्छ।’ युवा खेलाडीका लागि आइपीएल र विश्व–११ राम्रो प्लेटफार्म भएको भन्दै उनले प्लेइङ–११ मा परेपनि नपरेपनि त्यस स्थानसम्म पुग्नु नै ठूलो अवसर भएको बताए।

विश्व–११ र वेष्ट इन्डिज टोलीबीच हुने टी–२० खेल बिहीबार हुनेछ। विश्व–११ को कप्तानी इंग्ल्याण्डका कप्तान आयन मोर्गनले गर्दैछन्। उनीसँगै टोलीमा पाकिस्तानका साहिद अफ्रिदी, सोयब मलिक, न्यूजिल्याण्डका मिचेल म्याक्लनेघन, ल्युक रन्ची, भारतका दिनेश कार्तिक, हार्दिक पाण्ड्या, अफगानिस्तानका रासिद खान, तमिम इक्वाल र श्रीलंकाका थिसारा परेरा छन्।

वेष्ट इण्डिजको टोलीमा स्यामुयल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभान लुइस, मार्लोन सामुएल्स तथा आन्द्रे रसेल लगायत खेलाडी हुने आइसीसीले जनाएको छ। आइपीएल खेलिरहेकै बेला सन्दीपलाई आइसीसीले विश्व–११ टोलीमा राखेको थियो। दिल्ली डेयरडेभिल्सबाट आइपीएलमा ३ खेल खेलेका सन्दीपले ५ विकेट लिदैं प्रभावशाली प्रदर्शन गरेका थिए।

सम्बन्धित शिर्षकहरु