सुखानीमा प्रचण्डको नयाँ परिभाषा-‘ झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा’

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको नयाँ परिभाषा गर्दै पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर शङ्का नगर्न सुझाएका छन् ।

इलामको सुखानी शहीदभूमिमा मंगलबार आयोजित झापा विद्रोहका पाँच शहीदको ४६औँ स्मृतिसभामा उनले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइने दावी गरे। मुलुकमा माओवादी जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकमा आफूले माओवादी विद्रोह र झापा विद्रोहका शहीदलाई साझा शहीद मान्नुपर्ने प्रस्ताव पास गराएको दाहालले सुनाए।

झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउँदै दावी गर्दै दाहालले ४६ वर्षअघि शहीदले सुखानीमा गरेको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको व्याख्या गरे। “रोल्पा र झापा केन्द्र भएका दुवै कम्युनिष्ट पार्टी एकै ठाउँ मिलेर नगई हुँदैन भन्ने सोचेर मैले त्यसबेला झापा विद्रोहका शहीदलाई उच्च सम्मान गर्ने प्रस्ताव ल्याएको थिएँ”, दाहालले आफ्नो भनाई थप व्याख्या गर्दै भने, “नेतृत्वकर्ताका रुपमा मैले त्यतिबेला गरेको निर्णय कति दूरदर्शी थियो भन्ने अहिले हाम्रो एकताले साबित गरिदिएको छ ।”

दाहालसँगै कार्यक्रममा सहभागी प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी ओलीले सुखानीस्थलमा रहेको शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि दिएका थिए।

सम्बन्धित शिर्षकहरु