आईपीएल:मुम्बई इण्डियन्सको पहिलो जित दर्ता

एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गराएकाे छ । बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित दर्ता गरेकाे हो ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान विराट कोहलीले ४६ रन जोड्दा पृथ्वी पटेलले ३१ रन बनाए । मोइन अली १३ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे । यसैगरी १२ बल खेलेका युवराज सिंहले २३ रन बनाए । लगातार तीन छक्का प्रहार गरेको सिंहले चौथो बलमा पनि छक्का प्रहार गर्दा मोहमद सिराजबाट क्याच आउट भएका थिए । यस्तै क्वीन्टन डी ककले पनि २३ रन बनाउँदा अन्तिमसम्म क्रिजमा रहेका हार्दिक पाण्ड्याले ३२ रन बनाए । १४ बल खेलेका पाण्ड्याले ३ छक्का तथा २ चौका प्रहार गरेका थिए ।

बेंग्लोरका युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । उमेश यादब र मोहमद सिराजको नाममा दुई दुई विकेट रह्यो ।यो जितसंगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बैंगलोर साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।

सम्बन्धित शिर्षकहरु