काठमाडौं । यूएईविरुद्ध एक दिवसीय सिरिज जितेसँगै नेपालले आईसीसी वरियता क्रममा प्रवेश पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गएराति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भएको हो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।
एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् ।
यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३ औं र यूएई १४औं स्थानमा छ । नेपाली सिनियर क्रिकेट टोलीले हालसम्मकै सबैभन्दा ठूलो विजय पाएको छ । सिनियर टोलीले नेपालको लागि कुनै पनि स्वरुपको क्रिकेटमा सफलतापूर्वक पछ्याएको यो सबैभन्दा ठूलो स्कोर हो ।
एएनआईबी च्यालेन्च सिरिज २०१९ को तेश्रोे खेलमा कप्तान पारस खड्काको शतकसँगै नेपालले युएईलाई ४ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलोपटक एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा कब्जा गरेको छ । बलियो प्रतिद्वन्दी युएईले ६ ओभर खेलेर २ रन बनाउँदै २ विकेट गुमाएको अवस्थाबाट सम्हालिदै खेलेर २५४ रन बनाएको थियो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लगाएको युएई शुरुवातमै धर्मराएपछि नेपालले औसत लक्ष्य मात्र पाउने सम्भावना देखिएको थियो । यसको विपरित ओडीआईमा आफ्नो अनुभवको भरपुर प्रयोग गर्दै सम्हाल्दै खेलेर युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाइ २५४ रन बनाइ नेपाललाई समस्यामा पारेको थियो ।
युएईका लागि शैमान अनवरले ७० बलमा सर्वाधिक ८७ रन बनाए । ९ चौका र २ छक्का प्रहार गरेका उनले नेपाली बलरहरुलाई मैदानको चारैतिर प्रहार गरेका थिए । त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद बुटाले विस्फोटक इनिङ खेल्दै ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए ।
सीपी रिजवान, मुहम्मद उस्मान, गुलाम शब्बेर र मोहम्मद नाभेदले क्रमशः ४५, २६, १८ र ११ (नटआउट) रन बनाए ।
बलिङतर्फ नेपालको लागि पारस खड्का सबैभन्दा सफल साबित भए । १० ओभर बलिङ गरेका उनले ४४ रन दिंदै २ विकेट लिए । युएईका ब्याटसम्यानले उनको अन्तिम २ ओभरमा २८ रन निकालेका थिए । त्यस्तै करन केसीले पनि १० ओभरमा ४६ रन दिंदै २ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।
जवाफी ब्याटिङ गरेको नेपालले युएईलाई उसकै मैदानमा हराउने क्रममा ४४.४ ओभरमा ६ विकेट गुमाउँदै २५५ रन बनाइ लक्ष्य पुरा ग¥यो ।
नेपालका सबै ब्याटसम्यानले योगदान गरेको यस खेलमा कप्तान पारस खड्का नायक नै रहे ।
पारसले दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरे । त्यसपछिका ब्याटसम्यानहरुसँग सानो सानो साझेदारी गरेपनि उनले रोहित पौडेलसँग गरेको ५२ रनको साझेदारीले नेपाललाई लक्ष्य नजिक पु¥यायो ।
टोलीको स्कोर २१५ पुगेपछि आउट भएका पारसले ३४.२ ओभरसम्म मैदानमा भिड्दै दुर्लभ शतक प्रहार गरे । १०९ बलमा ११५ रन प्रहार गर्ने क्रममा उनले १५ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएपछि सोमपाल कामी र आरिफ शेखले ४० रनको साझेदारी गर्दै जितको औपचारिकता पुरा गरे ।
पारस बाहेक नेपालको लागि ज्ञानेन्द्रले ३५ बलमा ३१ रन प्रहार गरे । नटआउट रहेका सोमपाल र आरिफले क्रमशः २६ र २१ रनको योगदान दिए भने डेब्यु गरेका खेलाडी सन्दीप जोराले १९ रन बनाए ।
महत्वपूर्ण साझेदारीमा कप्तानलाई साथ दिएका रोहितले १६ रन बनाए । बलिङतर्फ युएईका अस्फाक अहमद र इमरान हैदरले समान २ विकेट लिएभने कादिर अहमद र मोहम्मद नाभेदले समान १ विकेट लिए ।
जिवनकै उत्कृष्ट खेल प्रदर्शन गरेका कप्तान पारस खड्का प्लेयर अफ द म्याच चुनिए । नेपालले हालसम्म खेलेको ६ ओडीआईमा ३ जित दर्ता गरि आईसीसीको वरियतामा पनि आएको छ ।
टी–२० सिरिज आगामी बिहिबार देखि सुरु हुने तालिका रहेको छ ।








