मौसममा देखिएको उतारचढाव जारी,पूर्वी पहाडी र मध्य क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि मौसममा देखिएको उतारचढाव आज पनि जारी रहने जनाएको छ । पश्चिमी वायुको प्रभाव अझै कायमै रहेकाले आंशिक तथा पूर्ण बदली, आंशिक तथा हल्का वर्षा हुनेक्रम जारी रहने महाशाखले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बुधबार देखि मौसममा थप बदली हुने र पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव देशका पश्चिमी भेगमा बढी पर्ने देखएकाले पश्चिमी भेगमा अझै पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

आज (मंगलबार) देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने पूर्वी पहाडी र मध्य क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज मुलुकको उच्च पहाडी भूभागका केही स्थानमा सामान्य हिमपात हुने भएपनि बाक्लो हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा दिउँसो केहीबेर घाम लागे पनि पूर्णरुपले बादल हट्ने सम्भावना भने नरहेको जनाइएको छ ।

आज बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । यो हिजो विहान सोही समयको न्यूनतम् तापक्रम भन्दा केहि कम हो ।

काठमाडौ उपत्यकामा आज दिउँसोको अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु