असोज १६ ।खोटाङ,दलितप्रति गरिने सामाजिक दुव्र्यवहार तथा छुवाछुत प्रथालाई निर्मुल पार्ने उद्देश्यले खोटाङमा दलित अधिकार जिल्ला सञ्जाल गठन गरिएको छ ।
प्रकाश तोलाङ्गेको संयोजकत्वमा नौ सदस्य समिति रहेको जिल्ला सञ्जाल गठन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङका सचिव दीपक ठटालले जानकारी दिनुभयो ।
नेपालमा जातीय भेदभाव तथा छुवाछूत ऐन जारी गरिए पनि कार्यान्वयन नभएको र कारबाही गर्ने निकाय फितलो भएकाले दबाब दिन सञ्जाल गठन गरिएको ठटालको भनाइ छ ।
दलित भएकै कारण सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था हालसम्म पनि कायम रहेको र यस्ता विभेद अन्त्य गर्न स्थानीयस्तरदेखि नै लागि पर्नुपर्ने भएकाले सञ्जाल गठन गरिएको सङ्घका जिल्ला अध्यक्ष चर्चबहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दलित भएकै कारण कोठा नपाइने, दलितको नाममा आउने समावेशी अधिकारमा गैरदलितले हस्तक्षेप गर्ने तथा अन्य विविध कुरामा दलितले थिचोमिचो सहनुपर्ने बाध्यताको अन्त्य गर्न सञ्जालको विशेष भूमिका रहनेछ ।”
सञ्जालको सदस्यमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङ, स्थानीय रुपाकोट सामुदायिक रेडियो र सामुदायिक रेडियो हलेसीका प्रतिनिधिसमेत सम्मिलित छन् । समितिले दलित अधिकार प्राप्तिका लागि विभिन्न व्यक्तित्वसँग छलफल तथा अन्तक्र्रिया गर्ने जनाएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङको समन्वयमा भएको भेलाले सञ्जाल गठन गरेको हो ।








