आयोजक थाइल्याण्डसँग पराजित हुँदै नेपाल उपविजेतामै सीमित

काठमाडौ । थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित भएको छ । फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएपछि सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । टेर्ड थाई मैदानमा शनिवार भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् ।

पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच तथा कप्तान रुबिना क्षेत्री पाँच करुना भण्डारी चार रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो ।

यअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वा्धिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको थियो । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजिक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

सम्बन्धित शिर्षकहरु