मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

काठमाडौं । बामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि अस्पताल भर्ना भएका तुलाधरको आज (आइतबार) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो

तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल भर्ना गरिएको थियो। ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारका एक सदस्यले जानकारी गराएअनुसार तुलाधरको रगतको नशा ब्लक भएको थियो भने छातिमा इन्फेक्सन देखिएको थियो ।

तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उनी २०६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

२०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उनको महत्वपूर्ण भूमिका थियो। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए।

नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। उनको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका छ। तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन्।

सम्बन्धित शिर्षकहरु