काठमाडौं । अघिल्लो शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमा सो तथ्य खुलेको हो ।
एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ असुली गरेका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका हुन।
पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । टिभी नकिनेपछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।
जोसँग पनि घुस माग्ने गरेका राईलाई ३ वर्षअघिदेखि अख्तियारले पिछा गरेको थियो । चापागाउँ वृत्तमा हुँदा उनलाई पक्राउ गर्न आयोगबाट प्रहरी टोली खटिएको थियो । तर, उनले आयोगको टोलीलाई नै छक्याएर घुस लिएका थिए । बौद्धमा पनि उनीविरुद्ध धेरै उजुरी आएको थियो । चतुर तरिकाले घुस लिने भएकाले उनी पक्राउ परेका थिएनन् । अख्तियारले पिछा गरेको ३ वर्षपछि उनी पक्राउ परेका हुन ।
प्रहरी पक्राउका शृंखला
३१ भदौमा एकैपटक कोटेश्वर, काँडाघारी तथा नयाँठिमी प्रभागका ९ प्रहरी घुससहित पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा थप २ प्रहरीले ‘लाइन मिलाएर’ पैसा लिने गरेको खुल्यो । सइ गोविन्द खरेल, ज्योति विष्ट, असइहरू गोपाल श्रेष्ठ र सुवास ढुंगाना, प्रहरी हवल्दारहरू उमेशलाल यादव, अमन चौधरी र दीपक भारती तथा प्रहरी जवानहरू मुकेशकुमार पटेल, दीपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल पक्राउ परेका थिए । उनीहरूले पनि बालुवा व्यापारीसँग मासिक पैसा लिने गरेका थिए ।
५ मंसिरमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्र्कका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परे । उनी ठूलै नेताको सोर्सफोर्स लगाएर त्यहाँ सरुवा भएका थिए । नयाँबसपार्क क्षेत्रका होटेल तथा लजसँग मासिक लिने दररेट उनले बढाएका थिए । असन्तुष्ट बनेका स्थानीय एक लजका सञ्चालकले अख्तियारलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए ।
गतवर्ष असोजमा बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी तथा असइ चन्द्रसिंह भाट पक्राउ परेका थिए । उनले नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ५ लाख रुपैयाँ घुस लिएर छाडेको अनुसन्धानमा खुल्यो ।
त्यस्तै, बानेश्वर वृत्तका डिएसपी रमेश तामाङ जग्गा विवादमा सहयोग गरिदिने भन्दै घुस लिँदा पक्राउ परे । ८ माघ ०७१ मा उनी ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । १२ साउन ०६९ मा थानकोट वृत्तका डिएसपी तेजेन्द्र पौडेल ३५ हजार घुससहित पक्राउ परेका थिए ।
भट्टीदेखि हुन्डीसम्म
प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउने गर्छन् । भट्टी चलाउनेदेखि हुन्डीको कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन् । कतिपय अवस्थामा बेलुका ढिलासम्म प्रहरीले रेस्टुरेन्ट तथा डान्सबार खोल्न दिएर पैसा लिने गरेको छ ।
कतिपय होटेलमा वेश्यावृत्ति हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरीले संरक्षण गरेर समेत पैसा लिने गरेको छ । हुन्डी तथा डलरको अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिने गरेको छ । कतिपय प्रहरी त गुन्डागर्दीमा संलग्नसँग समेत मिल्ने गर्छन् ।
यस्तै ठाउँबाट पैसा लिनका लागि वृत्त तथा प्रभागका प्रमुखहरू आफूनिकट प्रहरीलाई घुमुवाका रूपमा राख्ने गर्छन् । सबैजसो वृत्तमा अपराध अनुसन्धानका लागि अपराध महाशाखाको शाखा भए पनि वृत्तले छुट्टै घुमुवा टोली परिचालन गर्दै आएको छ । महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले उपत्यकाका प्रभाग तथा वृत्तका प्रहरीहरू निगरानीमा रहेको र गलत गर्नेलाई कारबाही गर्दै आएको नयाँ पत्रिकामा समाचार छ ।
यस्तै, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उजुरी बढेपछि आन्तरिक शुद्धीकरणलाई तीब्रता दिएको बताए । सोही क्रममा परिसरको टोलीले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीका एक प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घुस खाएको उजुरी परेपछि ती अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ ।








